पर्वत अस्पतालमा कोरोनाको उपचारसँगै विभिन्न रोगका बिरामीको सफल शल्यक्रिया

पर्वत । पर्वत अस्पतालमा जेठको मध्ये सम्ममा १ सय ३५ जना विभिन्न रोगका बिरामीको सफल शल्यक्रिया गरिएको छ ।
सेवा, सुविधा, साधन र स्रोतको वृद्धि भएपछि कोरोनाको महामारी चलिरहेकै अवधिमा पनि विभिन्न रोगका बिरामीको शल्यक्रिया गरिएको हो ।
अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार कोरोनाको दोस्रो महामारी सुरु भएपछिको डेढ महिना अवधिमा १३ जना गर्भवतीको जटिल खालको सफल शल्यक्रिया गरिएको छ ।
गत साउनदेखि जेठ २० गतेसम्म कुल ६६ वटा जटिल प्रकृतिको सुत्केरीको शल्यक्रिया गरिएको छ भने हर्नियाँको १० वटा, हाइड्रोशीलका दुई वटा र एउटा एपेन्डीसाइटीसको शल्यक्रिया गरिएको छ । सोही अवधिमा ५६ वटा माइनर शल्यक्रियाहरू गरिएका छन् ।
पर्वत अस्पतालमा गत वर्ष पनि कोरोनाको महामारी कायमै रहेको बेलामा शल्यक्रिया सेवा पनि सञ्चालन भएका थिए ।
अहिले दोस्रो लहर चलिरहेको बेलामा पनि बिरामीलाई सेवा दिनको लागि स्वास्थ्यकर्मीहरू तत्पर रहेको जिल्ला अस्पताल पर्वतले जनाएको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरू इमानदारीपूर्वक सेवामा लागिरहेका कारण यो सम्भव भएको हो भने जोखिमको माझमा पनि बिरामीलाई सेवा दिनु स्वास्थ्यकर्मीको कर्तव्य रहेको अस्पतालका सूचना अधिकारी उपाध्यायले बताउनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले पर्वतवासीहरू सामान्य शल्यक्रियाका लागि पोखरा जान बाध्य हुँदै आएकोमा पछिल्ला वर्षमा भने त्यो बाध्यता हट्दै गएको जानकारी दिनुभयो ।
अस्पतालको स्तरोन्नति गर्दै सेवा सुविधा पनि थप भएपछि एमडिजिपी चिकित्सक सहितको टोलीबाट शल्यक्रियाका कामहरू भइरहेको पहाडीको भनाइ छ ।
पोखराका विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राप्त गर्न सकिने स्वास्थ्य सुविधाहरूको व्यवस्थापन पछिल्लो समय पर्वत अस्पतालमा नै गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्