गाउँ गाउँमा बढ्दै बिरामी : कोरोना परीक्षण गराउनै मान्दैनन् स्थानीय

बाजुरा । बडिमालिका नगरपालिका–७ सिराडीकी सुशिला वि.क.लाई दुई साता अघि ज्वरोले निकै सतायो । उनी उठ्न नसक्ने गरी थला परिन । , विश्वभरि नै कोरोना महामारीको लहर चलिरहेका बेला ज्वरो आएपछि उनी भित्रभित्रै डराइन । कतै कोरोना भाइरसले संक्रमण पो गर्यो की भन्ने पिर परेपनि उनी सहेरै घरमै बसिन् ।संक्रमण पुष्टि होला भन्ने डरले घर नजिकै स्वास्थ्य चौकी भएपनि सुशिला जँचाउन गइनन् । केही दिनको ज्वरोसँगको लडाइपछि बिस्तारै शुशिला तङ्ग्रिइन ।
उनलाई ज्वरो आएको एक सातापछि उनकी बहिनी निर्मला वि.क लाई पनि अत्यधिक ज्वरोले च्याप्यो, सुशिला बिस्तारै तग्रिदै गइन् तर उनकी बहिनी निर्मला भने दिनप्रतिदिन थला पर्दै गइन् । निर्मलाले पनि सुशिलाको जस्तै कोरोना भाइरसको संक्रमण देखिने डरले चेकजाँच गराइनन् बरु घरमै बसेर अत्यधिक मात्रामा देखिएको ज्वरोसँग लडिन् ।
केही समयपछि वडा नं ७ को सिराडी गाउँ नै ज्वरोले प्रभावित भयो । गाउँ नै प्रभावित भएको खबरपछि भने वडा नं ७ वडा कार्यालयको समन्वयमा चुथी स्वास्थ्य चौकीका चिकित्सकहरूले घर–घरमै गएर परीक्षण गरे । परीक्षण सँगै स्वास्थ्य परामर्श र स्वास्थ्य सामाग्री प्रदान गरे पनि अवस्था सुध्रिएको वडाध्यक्ष धर्मराज उपाध्यायले भन्नुभयो ।
त्यस्तै बुढीगंगा नगरपालिकाका केही बस्तीहरूमा पनि परीक्षणको डरले संक्रमण बढ्न थालेको नगरप्रमुख दिपक विक्रम शाह बताउनुहुन्छ । उहाँले बुढीगंगा नगरपालिका वडा नं १ को अम्कोटमा पनि परीक्षणको डरले नै संक्रमण फैलिएको बताउनुभयो ।
बाजुराका अधिकांश बस्तीमा कोरोना संक्रमण फैलिने कारण नै रोगको सङ्केत हुँदा पनि परीक्षण गर्न डराउने र रोग लुकाउनै बानीले भएको चिकित्सकहरू बताउँछन् ।
अहिले पनि गाउँघरमा ज्वरोका बिरामी बढिरहेका छन् । कोरोना संक्रमण देखिने डरले गाउँमा चेकजाँच नगर्ने र चेकजाँच पनि सावधानी नहुने भएकाले संक्रमण बढी फैलिएको चिकित्सकहरूको अनुमान छ ।
ज्वरो आउने, टाउको दुख्ने बिरामीले जिल्लाका नौ वटा पालिकाका कुनै गाउँ खाली छैनन्, तर पनि मानिसहरू परीक्षण गर्न डराउने गरेको चिकित्सकहहरु बताउँछन् ।
खासगरी बुढीगंगा नगरपालिका, हिमाली गाउँपालिका र गौमुल गाउँपालिकामा चिकित्सकहरूले घर–घरमै गएर परीक्षण सहित परामर्श गरिरहेका छन् । अन्य पालिकाका स्वास्थ्य शाखालाई पनि चिकित्सकहरूलाई परीक्षणको लागि घर–घरमै पठाउन जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दयकृष्ण पन्तले बताउनुभयो ।
गौमुल गाउँपालिका दहकोट स्वास्थ्य चौकीका इन्चार्ज धर्म खत्रीले भन्नुभयो टाउको दुख्ने, ज्वरो आउने , पसिना आउने , टाउको दुख्ने , कमजोर महसुस हुने , जिउ काप्ने , आँखा रातो हुने, दुख्ने पोल्ने , हात खुट्टाको मसल दुख्ने, पखाला लाग्ने, ढाड दुख्ने यस्तै यस्तै बिरामीहरू गाउँ गाउँमा छन् ।
‘एकै घरका चार जनासम्म ज्वरो आएर थला परेका छन् । तर, कोरोना पुष्टि होलाकी भन्ने डरले स्वास्थ्यचौकीमा चेकजाँच नै गर्न आउँदैनन् स्वास्थ्य चौकी इन्चार्ज खत्रीले भन्नुभयो ।
जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा पनि गाउँगाउमा बिरामी छन् । धेरै कमजसोले मात्र कोरोना परीक्षण गराउन आउँछन् । चेकगरेका प्रायमा कोरोनाका लक्षण देखिन्छ । ‘गाउँबाट कोरोना परीक्षण गर्न आउँदै आउँदैनन्’ हिमाली गाउँपालिकाकी स्वास्थ्य अधिकृत प्रेमकला मल्ले भन्नुभयो ।घर–घर गएर स्वास्थ्य परीक्षण गर्ने हो भने ज्वरोका बिरामीले कुनै घर खाली रहने छैनन् अधिकृत मल्लले भन्नुभयो ।
बाजुरा जिल्लामा पछिल्लो समयमा कोरोना भाइरस तथा (कोभिड १९को–दोस्रो लहरबाट संक्रमित हुनेको सङ्ख्या फेरि बुद्धि हुन थालेको छ ।
स्वास्थ्य कार्यालय बाजुराले दिएको जानकारी अनुसार जिल्लामा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएका छ ।
शनिबार ६० जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाजुरा प्रमुख दयाकृष्ण पन्तले जानकारी दिनुभयो ।
जिल्लामा हालसम्म ६ सय १६ जना कोरोना पुष्टि भएको छ भने हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ३७ जना रहेको पन्तले जानकारी दिनुभयो । जिल्लामा हालसम्म कोरोनाकै कारण ९ जनाको मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्