तपाईँ सुन्दै हुनुहुन्छः

माछा मार्ने परम्परागत पेसा सङ्कटमा पर्दै 

सल्यान । सल्यानमा माछा मार्ने परम्परागत पेसा सङ्कटमा पर्दै गएको छ । माछाको प्रमुख स्रोत खोलानालामा विषादीको प्रयोग र करेन्ट लगाएर माछा मार्ने प्रवृत्तिका कारण माछा मारेर जीविकोपार्जन गर्ने समुदायको पेसा नै सङ्कटमा पर्न थालेको हो ।
जिल्लाको शारदा नगरपालिका, कालीमाटी गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिकाका बादी समुदायहरू जीविकोपार्जनको पुर्ख्यौली पेसाको रुपमा माछा मार्दै आइरहेका छन् तर पछिल्लो समय माछा पाइन छाडेपछि अन्य पेसा व्यवसाय अङ्गाल्न बाध्य भएका छन् ।
पहिले दिनमा ३ देखि ४ किलोसम्म माछा मार्ने गरेको भए पनि आजभोलि दिनभर चहार्दा पनि मुस्किलले आधा किलो मार्ने गरेको शारदा नगरपालिका १ शान्तिनगरका रामु वादीले बताए । उनले भने पहिले माछा मारेर दिनको १ हजार देखि १२ सय रुपैयाँ आम्दानी हुन्थ्यो र परिवार पाल्न सजिलो भएको थियो तर आज भोलि तीन चार सय रुपैयाँ कमाउन पनि मुस्किल हुने गर्छ । माछा मार्ने व्यवसाय अङ्गालेका शान्तिनगरका आठ जनाको पेसा नै सङ्कटमा परेको उनको भनाई छ ।
खोलामा विषादी र करेन्ट लगाएर मार्न थालेपछि साना ठुला सबै माछा मर्ने गर्छ जसका कारण माछा नै लोप हुन जान थालेको बनगाड कुपिण्डे नगरपालिका ५ नाथे खोलाका दुर्गा वादीले बताए । खोलामा माछा पाइन छाडेपछि माछा मार्ने पेसा त्यागेर बालुवा गिट्टी सङ्कलन गर्दै आइरहेको उनको भनाई छ ।
बजारमा पाइने माछा खाँदै आएका ग्राहकले आफूले जालमा पारेको माछा देख्ने बित्तिकै किन्न र लैजान खोज्ने गरेको भएपछि माछा नै जालमा नपर्ने गरेको उनको गुनासो छ । उनले भने प्राकृतिक रुपमा हुर्केका माछा जालबाट झिक्न नपाउँदै बिक्री हुन्छ तर माछा नै नभएपछि के बिक्री गर्नु ?
मानव जातीको अस्तित्वका लागि पनि जैविक विविधताको संरक्षण गर्नुपर्ने डिभिजन वन कार्यालय सल्यानका निमित्त डिभिजन प्रमुख रमेश गिरीले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button