तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड–१९ भाइरस पत्ता लाग्नुअघि वुहान प्रयोगशालामा सङ्क्रमण थिएन : चीन

वुहान  ।  चीनको हुबेइ प्रान्तको वुहानस्थित प्रयोगशालाका कुनै पनि कर्मचारी वा अनुसन्धानकर्ता कोरोना भाइरसबाट सङ्क्रमित नरहेको चीनले फेरि एक पटक दोहोराएको छ ।
अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर चीनमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनुभन्दा केही हप्ता पहिले वुहानस्थित प्रयोगशालाका तीन जनामा मिल्दोजुल्दो लक्षण देखिएको भन्ने दाबीको खण्डन गर्दै चीनको यो भनाइ आएको हो ।
अमेरिकी गुप्तचरको रिपोर्टपछि कोरोना भाइरसको उत्पत्तिलाई लिएर अमेरिका र चीनका परस्पर भिन्न भनाइ आउने गरेका छन् ।
प्रयोगशालामा भएको व्यवस्थापकीय असावधानीका कारण चुहावट हुँदै भाइरस मानिसमा सरेको हुनसक्ने आशङ्का अमेरिकी अधिकारीहरूले गर्दै आएका छन् ।
यसै विषयलाई लिएर राष्ट्रपति जो बाइडेनलेले अघिल्लो हप्ता विस्तृत अध्ययन गरी ९० दिन भित्र प्रतिवेदन बुझाउन गुप्तचर निकायलाई आदेश दिनुभएको थियो ।
 विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० को संयोजनमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले गरेको अध्ययनमा कोरोना भाइरस प्रयोगशालाबाट चुहावट भएर मानिसमा सरेको हुन सक्ने सम्भावना अति दुर्लभ रहेको तर थप अध्ययन भने गर्नु पर्ने बताएको थियो ।
पछिल्लो पटक अमेरिकी गुप्तचर निकायको सूचनापछि वुहानको समुद्री खाद्यान्न बजारबाट नभई प्रयोगशालाबाट भाइरस फैलिएको हुन सक्ने आशङ्कामा बल पुगेको हो।
यसलाई नै मध्यनजर गरेर अमेरिकाका वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डा। एन्थोनी फाउचीले चीनसँग वुहानस्थित प्रयोगशालाका तीन अनुशन्धानकर्तासहित कुल ९ जना चिनियाँ नागरिकको स्वास्थ्यसम्बन्धी विवरण जारी गर्न माग गर्नुभएको छ ।
शुक्रवार चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा सन् २०१९ को डिसेम्बर ३० भन्दा पहिले कोरोना भाइरसको कुनै जानकारी नरहेको दाबी पुनः गर्नुभएको छ ।
उहाँले अहिलेसम्म सो प्रयोगशालाका एक कर्मचारी वा विद्यार्थीमा कोरोना भाइरसको संक्रमण नदेखिएको दाबी गर्नुभयो । स्वास्थ्य विवरणहरू प्रयोगशालाका कर्मचारी र शोधकर्ताहरूमा मात्रै सीमित गरिने भएकाले सार्वजनिक गर्न नसकिने उहाँले बताउनुभयो । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button