जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन समिति गठन

जनकपुरधाम । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशङ्कर अरगरियाले पदभार ग्रहण गरेपछि पहिलो कार्यको रुपमा जनकपुरधामको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनका लागि एक समितिको गठन गर्नुभएको छ ।
मन्त्री अरगरियाले शुक्रवार राति नै मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै आर्थिक वर्ष २०७८/७९ मा जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउने विषयमा अध्ययन गर्नका लागि पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमको संयोजकत्वमा पाँच सदस्यीय समितिको निर्माण गरेको जानकारी दिनुभएको हो ।
विश्वका हिन्दुहरूको आस्थाका केन्द्रको रुपमा रहेको जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका विगतदेखि नै विभिन्न प्रकारको प्रयास हुँदै आए पनि हालसम्म सफल हुन सकेको छैन ।
समितिले अध्ययन गरी आवश्यक सुझाव सहितको प्रतिवेदन पेस गर्न सिफारिसका लागि मन्त्री अरगरियाले कार्यादेश दिनुभएको रेडियो नेपाललाई जानकारी दिनुभयो ।
धनुषा निर्वाचन क्षेत्र नंं २ बाट निर्वाचित हुनुभएका मन्त्री अरगरियाले जनकपुर विमानस्थलको थप सुधारको काम गर्ने जानकारी दिँदै यस विषयमा विभिन्न पक्षहरूसँग राय सुझाव लिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्