तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणका कारणले धनुषामा थप दुईको मृत्यु, १ सय ३० मा संक्रमण

जनकपुरधाम । धनुषा जिल्लामा कोरोना सङ्क्रमणका कारणले थप दुई जनाको मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुनेमा एक जना पुरुष र एक जना महिला रहेका छन् ।
मृत्यु हुनेमा धनुषा जिल्लाको हंशपुर नगरपालिकाको वडा नंं ७ नौवाखोरका वर्ष ४५ का पुरुष रहेका छन् । कोरोना संक्रमित भएपछि उपचारका लागि जनकपुरधामको रामजानकी अस्पतालमा भर्ना रहेकोमा उपचार हुँदा हुँदै मृत्यु भएको कोरोना सम्पर्क व्यक्ति एवं जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत यमन सुन्दर श्रेष्ठले जानकारी दिनु भएको छ ।
यसै गरी जानकी मेडिकल कलेज एवं शिक्षण अस्पताल रमदैयामा उपचार हुँदाहुँदै जिल्लाको धनुषाधाम नगरपालिका वडा नंं ५ पर्वताका वर्ष ६० की एक महिलाको मृत्यु भएको छ । मृतकको शरीरमा अक्सिजनको मात्रा अत्यधिक कम भएका कारणले बचाउन नसकेको उपचारमा संलग्न रहेका चिकित्सकले जानकारी दिनु भएको छ ।
यो सँगै धनुषामा मात्र कोरोना सङ्क्रमणका कारणले हालसम्म एक भारतीय सहित ६७ जनाको मृत्यु भएको छ । यसै बीच ३ सय २० जनाको आज प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा गरिइएको पीसीआर परीक्षणमा १ सय ३० जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनु भयो ।
धनुषामा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको निःशुल्क संस्कार हुँदै 
कोरोना सङ्क्रमणका कारणले अस्पतालमा उपचारको क्रममा निधन भएका मृतकको सद्गत निःशुल्क रुपमा धनुषामा हुन थालेको छ ।
यस अघि मृतकको शव बोक्ने शव वाहन तथा दाह संस्कारमा लाग्ने सामानहरू मृतकका आफन्तले नै बेहोर्ने गरेकोमा नेपाल सरकारले निःशुल्क दाह संस्कार गर्ने निर्णय गरेपछि धनुषामा निःशुल्क रुपमा सद्गत गरिन थालिइएको छ ।
जनकपुरधामको स्वर्गद्वार स्मशानघाट गंगासागरमा सद्गतको व्यवस्था मिलाइएको छ । उक्त ठाउँमा मृतकको दाहसंस्कार गरेबापत स्वर्गद्वार स्मशानघाट समितिले संस्कारका लागि चाहिने सम्पूर्ण सामाग्रीहरू उपलब्ध गराउने र त्यस बापत जिल्ला विपत् व्यवस्थापन समितिको कोषबाट ७ हजार ५ सय भुक्तानी दिने व्यवस्था मिलाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
उक्त रकममा संस्कारमा लाग्ने दाउरा, गोइ्ठा, खर, घ्यु, धूप सहितका सामानहरू स्वर्गद्वार स्मशानघाट समितिले उपलब्ध गराउने गरेको समितिका अध्यक्ष एवं समाजसेवी पवन कुमार सिघानीयाले जानकारी दिनु भएको छ ।
यसका साथै बेवारिसे शवको व्यवस्थापन आफूहरूले निःशुल्क रुपमा नै गर्दै आएको उहाँले बताउनु भयो । समिति विशुद्ध सेवा गर्ने उद्देश्यले स्थापना भएको बताउँदै सञ्चालनलाई चीर स्थायी बनाउनका लागि लागत शुल्क मात्र कोरोना सङ्क्रमितबाट नलिई जिल्ला विपत् व्यवस्थापन कोषबाट लिने सिघानीयाले बताउनु भयो ।
कसैले आफै संस्कारमा प्रयोग हुने सबै सामानहरू लिएर आउनेसँग कुनै प्रकारको शुल्क नलिने गरेको अध्यक्ष सिघानीयाले जानकारी दिनु भयो । जनकपुरधामको दर्शनीय स्थलको रुपमा रहेको स्वर्गद्वार स्मशानघाट निर्माण भएपछि जनकपुरधाम आउने पर्यटक एक पटक आवश्यक सो ठाउँमा पुग्ने गरेका छन् ।
मान्छेको अन्तिम संस्कार हुँदा निक्कै सुन्दर, सफा तथा रमणीय स्थलमा होस् भन्ने उद्देश्यले समाजसेवी सिघानीयाले स्वर्गद्वार स्मशानघाटको निर्माण दिन रात मेहनत गरेर सबैको सहयोगमा गराएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button