तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा अनुगमन तीव्र, जयगढ बजार तीन वटा पसल सिल

अछाम ।  जिल्ला प्रशासन कार्यालय अछामले जिल्लामा बजार अनुगमन कार्य तीव्र पारेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले बजार अनुगमनमा तीव्र पारेसँगै अछामका बजार क्षेत्रमा ठुलो मात्रमा अखाद्य तथा म्याद नाघेका सामाग्री भेटिन थालेका छन् ।
जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा गरिएको अनुगमनका क्रममा भने म्याद गुज्रेका सामान मात्र नभई कृषि तथा तरकारी सङ्कलन केन्द्रलाई मदिराको गोदाम समेत बनाइएको भेटिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी तिमिल्सैनाको नेतृत्वको टोलीले अनुगमन गर्दा कृषि तरकारी सङ्कलन केन्द्रका भवनहरूमा मदिराको गोदाम बनाएको समेत भेटिएको हो ।
जयगढ रोड बजारमा रहेको कृषि सङ्कलन केन्द्रलाई भाडामा लिई बर्दादेवी सप्लायर्सले मदिराको गोदामका रुपमा प्रयोग गरेको भेटिएको छ भने वडा नम्बर १ गाँज्राकोट घरमा रहेको गाज्रा जनालीकोट कृषि उपज सङ्कलन केन्द्रलाई गौरव कोल्ड स्टोरले मदिराको गोदामको रुपमा प्रयोग गरेको पाइएको छ ।
भाडामा लिएको तथा सम्झौता गरेका आवश्यक कागजात नभेटिए पछि गाँज्रा जनालीकोट कृषि उपज सङ्कलन केन्द्रलाई १५ दिनका लागी शील गरिएको सहायक प्रजिअ तिमिल्सैनाले बताउनुभयो।
यस्तै नियम विपरीत कार्य गरेको भेटिएसँगै कोल्ड स्टोरलाई रु ५ हजार जरिवाना गराइएको छ भने १५ दिन भित्र आवश्यक कागजात सहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।
जयगढ रोड बजारमा रहेको कृषि केन्द्र भवन प्रयोगबारे दियालो बहुउद्देश्यीय सहकारी संस्थासँग बर्दादेवी सप्लायर्सले सम्झौता गरेको कागजात भेटिएपछि सहकारी संस्थामाथि आवश्यक अनुसन्धान गरिने भएको छ ।
जयगढ बजारमै नियम विपरीत कारोबार गर्ने अन्य दुई पसललाई पनि सिल गरिएको छ ।
यसअघि जिल्लाका मङ्गलसेन, साँफेबगर, कमलबजार, ठुलासैनबजार लगायतमा अनुगमन गरी नियम विपरीत कारोबार गर्ने व्यापारीलाई कारबाही गरिएको छ ।
व्यापारीहरूले नियम विपरीत धेरै काम गरेको पाइएको अनुगमन टोलीले जनाएको छ । अनुगमनबाट १ लाख बढी राजस्व सङ्कलन तथा ५ लाख बढीका अखाद्य पदार्थ नष्ट गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button