मकवानपुरगढी गाउँपालिकाले डाक्टर पढ्न छात्रवृत्ति दिने

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले डाक्टर पढ्नका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
गाउँपालिकामा स्थायी बसोबास गर्ने निम्न आय भएका विद्यार्थीलाई स्वास्थ्य विज्ञान विषयमा स्नातक तह (एमबिबिएस) अध्ययनका लागि सघाउ पुर्याउने उद्देश्यका साथ गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷०७८ देखि नै छात्रवृत्ति प्रदान गर्न लागेको हो ।
गाउँपालिकामा आएका निवेदनका आधारमा ४ जना विद्यार्थीलाई छनोट गरी प्रतिविद्यार्थी वार्षिक ५ लाख रुपैयाँका दरले ४ वर्षसम्म छात्रवृत्ति प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
सामुदायिक विद्यालयबाट एसएलसी वा एसइई परीक्षा उत्तीर्ण गरेका र पालिकाभित्र नै स्थायी बसोबास गरिरहेका अथवा बसाइसरेर आएका निम्न आय भएका विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्न लागिएको गाउँपालिका अध्यक्ष विदूर हुमागाईँले जानकारी दिनुभयो ।
पालिकाभित्रका विद्यार्थीलाई डाक्टर बन्न प्रोत्साहन गर्नका लागि यो योजना ल्याइएको उहाँको भनाई छ ।
‘गाउँपालिकाका निम्न परिवारका विद्यार्थीहरूले पनि एमबिबिएस पढेर डाक्टर बनी सेवा गर्न सकुन्, हाम्रो यही उद्देश्य रहेको छ’, अध्यक्ष हुमागाईँले भन्नुभयो ।
आगामी वर्षदेखि गाउँपालिकामै अस्पताल सञ्चालनमा आउन लागेकाले पनि विद्यार्थीलाई अध्ययनमा थप हौसला मिल्ने विश्वास रहेको उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षको जेठ अन्तिमसम्म एमबिबिएस प्रवेश परीक्षामा नाम निकाल्न सफल हुने गाउँपालिकाभित्रका विद्यार्थीले दिएको निवेदनका आधारमा विद्यार्थी छनौट गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिनुभयो ।
एमबिबिएसका लागि पहिल्यै छात्रवृत्ति प्राप्त गरेकाले भने पालिकाले प्रदान गर्ने छात्रवृत्ति प्राप्त गर्नेछैनन् । छनोट भएका विद्यार्थीलाई ४ पटक गरी प्रतिविद्यार्थी २० लाख रुपैयाँका दरले ४ वर्षमा ८० लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरिने पनि पुडासैनीले बताउनुभयो ।
छात्रवृत्ति प्राप्त गर्नका लागि विद्यार्थीले हस्तलिखित निवेदनको साथमा नेपाली नागरिकताको प्रतिलिपि, एसएलसी वा एसइईको प्रमाणपत्रको प्रतिलिपि, आफू बसोबास गर्ने सम्बन्धित वडाको सिफारिस पत्र, अध्ययनरत शैक्षिक संस्थाको सिफारिस पत्र तथा अध्ययनरत संस्थामा भर्ना भएर शुल्क तिरेको रसिद संलग्न गरी पेस गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्