तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु

बीरगंज । बीरगंजमा उपचाररत थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
बीरगंजको नारायणी अस्पतालमा उपचाररत दुई जना र भवानी अस्पतालमा एक जना गरी तीन जनाको मृत्यु भएको छ ।
पर्सागढी नगरपालिका वडा नम्बर ३ निवासी ३८ वर्षीय पुरुषको गए राति उपचारको क्रममा मृत्यु भएको छ ।
जेठ १२ गते भर्ना भएका पुरुषको उच्च निमोनियाको कारण अस्पतालको भेन्टीलेटरमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति एवं प्रशसकिय अधिकृत विनय श्रीवास्तवले बताउनुभयो ।
त्यसैगरी नारायणी अस्पतालमा उपचारको क्रममा रौतहटको बौदमाई नगरपालिका वडा नम्बर  ६ निवासी ४० वर्षीय पुरुषको मृत्यु भएको छ ।
जेठ ११ गते अस्पतालमा भर्ना भएका पुरुषको भेन्टिलेटरमा उपचारको क्रममा गए राति मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले बताउनुभयो ।
त्यसैगरी उपचारको क्रममा नारायणी अस्पतालमै सर्लाहीको बरथवा नगरपालिका वडा नम्बर ५ निवासी ५५ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ ।
जेठ ४ गते अस्पतालमा भर्ना भएका पुरुषको उच्च निमोनिया रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा गए राति मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले जानकारी दिनुभयो ।
यसै गरी बीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा थप २२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
१ सय ४२ जनाको पिसीआर परीक्षणको क्रममा २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेमा १५ जना पुरुष र ७ जना महिला रहेका छन् ।
संक्रमित मध्ये १४ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका ६ जना, रौतहटको १ जना र सर्लाहीको १ जनामा कोरोना संक्रमण पुष्टि भएको डा.दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह १० वर्षदेखि ७९ वर्षसम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १७ दशमलव ६ देखि ३५ दशमलव ८ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button