तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका अस्पतालहरूमा थप ७ सङ्क्रमितको मृत्यु, ६८ जनामा संक्रमण पुष्टि 

बाँके । बाँकेको विभिन्न अस्पतालमा थप ७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुधवार ७ः३० बजे साँझदेखि बिहीबार दिउँसो २ः३० बजेसम्म यी सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला स्तरीय कोरोना सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ३ जना बर्दिया, १÷१ जना दाङ, दैलेख, सल्यान र रुकुम का रहेका छन् ।
भेरी अस्पतालमा उपचाररत बढैयाताल गाउँपालिका–२ बर्दियाका ३४ वर्षीय पुरुषको बुधवार साँझ ७ः३० बजे र बढैयाताल गाउँपालिका–३ बर्दियाकै ५५ वर्षीय पुरुषको बुधवार राति ११ः४० बजे मृत्यु भएको छ ।
यस्तै बाँसगढी गाउँपालिका– ६ बर्दियाका ६६ वर्षीय पुरुषको बिहीबार दिउँसो २ः३० बजे युनाइटेड अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको छ । यस्तै तुलसीपुर उपमहानगरपालिका–६ दाङकी ६५ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा बुधवार राति १०ः२० बजे मृत्यु भएको छ भने आठबीस नगरपालिका–४ दैलेखकी ३० वर्षीया महिलाको बुधवार राति ११ः५५ बजे मृत्यु भएको छ ।
यस्तै कालीमाटी गाउँपालिका–१ सल्यानका ३७ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार बिहान ८ः३० बजे मृत्यु भएको छ भने बाफिकोट–४ रुकुमका २९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा बिहान १०ः१५ बजे मृत्यु भएको छ ।
योसँगै कोरोना सङ्क्रमणबाट बाँके जिल्लाभित्रका २९६ पुगेको छ भने अन्य जिल्ला बाहिरका ३०२ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
बाँकेमा ६८ जनामा कोरोना संक्रमण पुष्टि, ४० जना डिस्चार्ज
बाँकेका तीन वटा प्रयोगशालामा बिहीबार थप १५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा केही दिनदेखि निरन्तर संक्रमण दर घटिरहेको छ ।
कुल ४३२ नमुना परीक्षण गर्दा १५४ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ । भेरी अस्पताल प्रयोगशालामा ३१० नमुना परीक्षण गर्दा १२६ जना,बागेश्वरी ल्याबमा ६५ नमुना परीक्षण गर्दा २५ जना र मेडिकल कलेज कोहलपुरको ल्याबमा ५७ नमुना परीक्षण गर्दा ३ जनामा गरी कुल १५४ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरू मध्ये ६८ जना बाँकेका छन् । ३० जना महिला र ३८ जना पुरुष गरी जिल्लाका थप ६८ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ७९ हजार ५६६ जनाको पीसीआर परीक्षण भएको छ ।
आज जिल्लाका ४० जना डिस्चार्ज भएका छन् । २६ जना महिला र १६ जना पुरुष कोभिड सङ्क्रमणबाट निको भएको समितिले जनाएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण २४ घण्टामा जिल्ला बाहिरबाट आएका ७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button