तपाईँ सुन्दै हुनुहुन्छः

आज नेपाल र चाइनिज ताइपेइबीच प्रतिस्पर्धा

file photo
काठमाडौँ । विश्वकप तथा एसिया कप छनोट अन्तर्गत समूह चरणको छैटौँ खेलमा आज नेपालले चाइनिज ताइपेइको सामना गर्दैछ । नेपाली समयअनुसार आज रातको ९ः४५ बजे सुरु हुने खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुनेछ ।
नेपाल समूह चरणमा ३ अङ्कसहित चौथो स्थानमा छ । अस्ट्रेलियाको ४ खेलमा १२ अङ्क छ भने ५ खेल खेलेका जोर्डन र कुवेतको समान १० अङ्क छ । नेपाल भन्दा पछि रहेको चाइनिज ताइपेले अङ्क जोड्न सकेको छैन । आजको खेलमा जित हासिल गरे नेपालको चौथो स्थान पक्का हुनेछ ।
नेपालले आफ्नो समूहमा चौथो स्थान हासिल गर्दै अन्य समूहमा रहेको चौथो टोलीको तुलना गर्दा शीर्ष ४ स्थानमा पर्न सके सिधै एसिया कप छनोटको तेस्रो चरण खेल्न पाउँछ । यदि पुछार वा चौथो स्थानमा रहेर पनि अन्यको समूहको चौथो स्थानको तुलनामा शीर्ष ४ मा नपरे नेपालले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
नेपालले छनोटको पहिलो चरणमा चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो । उसकै मैदानमा भएको खेलमा दुवै गोल अन्जन विष्टले गरेका थिए । त्यसबाहेक कुनै पनि खेलाडीले यस पटकको छनोटमा गोल गर्न सकेका छैनन् ।
पछिल्लो खेलबाट अहिले टोलीमा व्यापक परिवर्तन भइसकेको छ । टोलीमा प्रशिक्षक पनि फेरिइसकेका छन् । त्यति बेला योहान कालिनको प्रशिक्षणमा रहेको नेपाली टोलीको कमान यस पटक प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सम्हालेका छन् । यस पटक नेपालीले विश्व कप छनोटका बाँकी तीनै खेल अलमुताइरीकै मुलुक कुवेतमा खेल्दैछ ।
झन्डै दुई साता उनको नेतृत्वमा प्रशिक्षण गरेको नेपाली टोलीले गत साता इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । अन्जन विष्ट र मनिष डाँगीले गोल गरेको खेलमा नेपाली टोली इराकसँग ६–२ ले पराजित भएको थियो । त्यो मैत्रीपूर्ण खेल थियो । इराक जस्तो बलियो टोलीसँग खेलाउँदा उनले आफ्नो टोलीको परिक्षण गर्ने मौका पाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button