पश्चिम नेपालको तराईका जिल्लाहरूमा विशेष प्रकारको हवाईजहाज मार्फत लाइडार सर्भे जारी

कञ्चनपुर । नापी विभागले पश्चिम नेपालको तराईका जिल्लाहरूमा विशेष प्रकारको हवाईजहाज आकाशमा उडाएर जमिनको धरातलीय स्वरूप पत्ता लगाउने लाइडार सर्भे गरिरहेको छ ।
लाइडार सर्भेको टोलीले अहिले कञ्चनपुर र कैलालीका विभिन्न भूभागको सर्वेक्षण गरिरहेको छ । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नापी विभाग मार्फत पहिलो पटक लाइडार सर्भे गर्न लागिएको र नापी विभागको महत्त्वपूर्ण परियोजनाका रूपमा यो कार्यक्रम जारी रहेको नापी विभागका निर्देशक एवं सूचना अधिकारी दामोदर ढकालले बताउनुभयो ।

उहाँका अनुसार, लाइडार सर्भेका लागि फ्रान्सबाट विशेष प्रकारको हवाईजहाज र आवश्यक जनशक्ति परिचालन गरिएको र उक्त टोलीमा केही नेपाली जनशक्ति समेत रहेका छन् । जमिनको धरातलीय स्वरूपलाई जस्ताको तस्तै तस्बिरमा उतार्ने कामका लागि स्क्यान गर्ने क्यामेरा लगायतका प्राविधिक उपकरण र दक्ष जनशक्ति सहित जहाज प्रयोग गरिएको नापी विभागका निर्देशक एवं सूचना अधिकारी ढकालले जानकारी दिनुभयो । यसबाट जमिनको लम्बाइ, चौडाइ, गहिराइ, उचाइ, त्यहाँ रहने सडक खण्ड, रेल मार्ग, सिँचाइ नहर, बाँध निर्माण, जलविद्युत् उत्पादन क्षेत्र, ठुलठुला बस्ती विकास लगायतका कार्यमा सहयोग पुग्ने उहाँको भनाइ छ ।
एक पटक देशभरको तथ्याङ्क तयार भएपछि पटक पटक यस्तो सर्वेक्षण गर्नु नपर्ने बताइएको छ । चितवनको नारायणीदेखि पश्चिममा कञ्चनपुरको महाकालीसम्मका तराईका सबै तथा चुरे पहाडी क्षेत्रमा गरी पहिलो चरणमा २० हजार वर्ग किलोमिटरको सर्वेक्षण गर्न लागिएको छ । नारायणीदेखि पूर्व मेचीसम्मको सर्भेका लागि जापान सरकारले सहयोग गर्ने भए पनि कोभिड महामारीका कारण केही समय लाग्न सक्ने देखिन्छ । पहिलो चरणको काम सकिएपछि थप क्षेत्रको सर्वेक्षण गरिने छ । विभिन्न ठुला आयोजनाहरूको सर्वेक्षणका लागि लाइडार सर्भे गर्ने गरिए पनि त्यो निक्कै खर्चिलो हुन जान्छ ।

यसका अतिरिक्त आयोजना पिच्छे गरिने सर्वेक्षणमा लाग्ने खर्च र समयलाई समेत घटाउन लाइडार सर्भे गरेर समग्र नेपालको भू धरातलीय तथ्याङ्क निकाल्न लागिएको हो । यो सर्वेक्षणको काम सकिएपछि भौगोलिक रूपमा गरिने भौतिक विकास निर्माणका आयोजनाहरूमा लाग्ने एक तिहाइ समय र बजेट बचत हुने विभागको दाबी छ । अन्तर्राष्ट्रिय सीमा सर्वेको कामको प्रयोजनका सन्दर्भमा प्रश्न गर्दा नापी विभागका निर्देशक एवं सूचना अधिकारी ढकालले केही तथ्याङ्कहरू आन्तरिक प्रयोजनका लागि उपयुक्त ठानिए पनि अन्तर्राष्ट्रिय सीमा सर्भेको कार्य सम्बन्धित देशहरूको संयुक्त सीमा सर्भे टोलीको निगरानीमा गर्नुपर्ने कार्य भएको हुँदा अहिलेको सर्भेलाई अन्तर्राष्ट्रिय सीमा सर्भेको काममा आधार मान्न नसकिने उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्