बुद्धिमतापूर्ण तवरले प्रकृतिको उपयोग गर्दा विनाश होइन विकास हुन्छ : मन्त्री लम्साल

पोखरा । गण्डकी प्रदेशका वन, वातावरण तथा भू-संरक्षण मन्त्री विकास लम्सालले ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने सङ्घीय सरकारको नीति विनाशका निम्ति नभई विकास र संरक्षणका निम्ति भएको बताउनुभएको छ ।
‘वातावरणीय प्रभाव मूल्याङ्कन गरेर डाँडा खार्ने र खानी उत्खनन गरेर बेच्ने हो भने प्रकृतिको विनाश होइन, देशको विकास हुनसक्छ,’ मन्त्री लम्सालले भन्नुभयो, ‘अहिले सरकारको नीतिको विरोध गर्ने काम मात्र भइरहेको छ । प्रकृतिको संरक्षण गर्दै वातावरणीय प्रभाव मुल्याङकनले उत्खनन गर्न मिल्ने खानीलाई उत्खनन गरेर निकासी गर्न सके देशको विकास हुने उहाँको भनाई थियो ।
नेपाल प्राकृतिक स्रोतको खानी रहेकोले आम्दानीको प्रमुख स्रोत खानीजन्य पदार्थलाई बनाउन सके देशको लागि फाइदाजनक हुने बताउनुभयो । सरकारको नीति प्रकृति र मानव जीवनलाई क्षति गराउने नभई आर्थिक समृद्धिका लागि भएको भन्दै उहाँले सरकारको विरोध गर्न आफु अनुकूल व्याख्या गर्ने काम मात्र भएको बताउनुभयो ।
नवलपुरदेखि चीनको उत्तरी नाका मुस्ताङसम्म गण्डकीका ११ जिल्लामा प्रदेश सरकारले पनि अध्ययन गरेको र ६० ठाउँमा उत्खनन गरेर ढुङ्गा, गिट्टी, बालुवा प्रयोग गर्न सकिने देखिएको मन्त्री लम्सालले बताउनुभयो । त्रिभुवन विश्वविद्यालयका प्रा. डा. र वातावरणविद्को एक टोलीमार्फत खानी उत्खननबारे अध्ययन गराएको गण्डकी प्रदेश सरकारले त्यो सम्भावना देखेको छ ।
आर्थिक समृद्धिको लागि वातावरणमा कुनै असर नपर्ने गरी खानी उत्खनन गर्नुको विकल्प नभएको भन्दै मन्त्री लम्सालले मापदण्ड बनाएर पारदर्शी हिसाबले काम गर्दा कुनै समस्या सिर्जना नहुने बताउनुभयो ।
वातावरणीय प्रभाव मूल्याङ्कन गरेर बागलुङको ताराखोलामा सिलेट ढुङ्गा, नवलपुरको धवादी, स्याङ्जाको भालु पहाड, पर्वतको डिमुवा, माटेको खानी, महाशिला,विहादीको गोल्र्याङ, गोरखा, तनहुँ लगायतका क्षेत्र बाट ठुलो आम्दानी गर्न सकिने मन्त्री लम्सालले बताउनुभयो । त्यसको बिक्रीबाट प्रदेशले ठुलो आम्दानी लिन सक्ने अध्ययनले देखाएको मन्त्री लम्सालको दाबी छ । यस बाट खानीजन्य पदार्थ मात्र होइन पहाडमा फराकिलो जमिन पनि निकाल्न सकिने सम्भावना छ ।
केही क्रसर उद्योगहरू आयोजनाको नाममा स्थापना गर्ने र समयावधि सकिएपछि पनि मापदण्ड विपरीत सञ्चालन भएका छन् तिनलाई नियमन गर्न व्यवस्थित हिसाबले उत्खनन गर्ने हो भने ढुङ्गा, गिटी, बालुवाबाट पूर्वाधार निर्माण र निकासी गरेर समृद्धिको पथमा हिँड्न सकिन्छ मन्त्री लम्सालले भन्नुभयो, “डिजेल, पेट्रोल, फलामको खानी हुने देशहरूले यसैलाई बेचेर आर्थिक समृद्धि हासिल गरेका छन्, हामी सँग ढुङ्गा, गिटि, बालुवा छ, यसलाई बिक्री वितरण गर्छौ, जो सँग जे छ, त्यसैको बिक्री वितरण गर्ने न हो ।
‘राज्य आफैँले लगानी गरेर वा निजी क्षेत्रलाई वातावरण नबिग्रिने गरी उत्खनन गरी निकासीको जिम्मा दियो भने ठुलै फाइदा हुन्छ,’ मन्त्री लम्सालले भन्नुभयो, ‘चुरे मासिने भयो भनेर त्यसै विरोध नगरौँ । व्यवस्थित विकासका लागि अब खानी उत्खनन र ढुङ्गा, गिटी, बालुवाको प्रयोग तथा निकासी आवश्यक छ ।’
सरकारको बजेट नीतिले चुरे विनाश गर्दैन, अर्थतन्त्रलाई सबल बनाउँछ, सरकारले क्षति हुने किसिमका कुनै पनि काम गर्दैन मन्त्री लम्सालले भन्नुभयो, यसमा सरकार गम्भीर छ, विरोधका लागि विरोध गर्ने परिपाटी बन्द गरौँ ।








प्रतिक्रिया राख्नुहोस्