नारायणी अस्पतालमा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु

बीरगंज । बीरगंजको नारायणी अस्पतालमा आज उपचारको क्रममा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
नारायणी अस्पतालमा आज दिउँसो उपचारको क्रममा वीरगंज महानगरपालिका वडा नम्बर १६ निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
नारायणी अस्पतालमा जेठ ११ गते उपचारका लागि भर्ना भएको पुरुषको उच्च निमोनियाको कारण आज दिउँसो उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति एवं प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिनुभयो ।
त्यसै गरी वीरगंज महानगरपालिका वडा नम्बर १७ निवासी ८० वर्षीय पुरुषको समेत नारायणी अस्पतालमा आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।
जेठ १७ गते अस्पतालमा संक्रमित भई भर्ना भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको श्रीवास्तवले बताउनुभयो ।
त्यस्तै नारायणी अस्पतालमै रौतहटको धरहरी नगरपालिका वडा नम्बर ९ निवासी ४५ बर्षिया महिलाको आज उपचारको क्रममा मृत्यु भएको छ ।
वैशाख २७ गते उपचारका लागि अस्पताल भर्ना भएकी महिलाको आइसियुपछि भेन्टिलेटरमा उपचारकै क्रममा आज बिहान निधन भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले बताउनुभयो ।
त्यसै गरी नारायणी अस्पतालमा उपचाररत रौतहट गुजरा नगरपालिका वडा नम्बर ७ की ७० वर्षिया महिलाको आज बिहान मृत्यु भएको छ ।
जेठ १८ गते अस्पताल भर्ना भएकी महिलाको भोलिपल्ट पिसिआर परीक्षणबाट कोरोना पुष्टि भएको र उच्च निमोनियाका कारण उनको आज बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमितको मृत्यु, १४ संक्रमित थपिए
बीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा थप १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
१६० जनाको पिसीआर परीक्षणको क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेमा १० जना पुरुष र ४ जना महिला रहेका छन् ।
संक्रमित मध्ये ९ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका २ जना, रौतहटका १ जना, सप्तरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको डाक्टर दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह २४ वर्षदेखि ८५ वर्षसम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १८ दशमलव २ देखी ३५ दशमलव ४ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्