तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा २३ प्रतिशतले घट्यो गहुँको उत्पादन 

सल्यान । सल्यानमा यस वर्ष गहुँ उत्पादनमा गिरावट आएको छ ।

जिल्लाको प्रमुख खाद्यान्न बाली भित्र पर्ने गहुँ उत्पादनमा यो वर्ष भने गिरावट आएको हो ।

यस वर्ष जिल्लामा १४ हजार २ सय १७ हेक्टर क्षेत्रफलमा गहुँ लगाएकोमा २७ हजार ३ सय ५० मेटिक्टन मात्र उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

गत वर्ष १४ हजार २ सय ३० हेक्टर क्षेत्रफलमा २५ हजार ६ सय १० मेटिक्टन गहुँ उत्पादन भएको थियो ।

यो गत वर्षको तुलनामा २३ दशमलव २ प्रतिशतले कम उत्पादन भएको कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिनुभयो ।

लामो समयसम्मको खडेरीका कारण यो वर्ष गहुँ उत्पादनमा कमी आएको सूचना अधिकारी बस्नेतको भनाई छ ।

सिँचाइ अभावका कारण खेतमा मात्र यो वर्ष गहुँ उत्पादन भएको हो । लामो समयको खडेरीका कारण पाखोबारीमा निकै कम मात्रामा उत्पादन भएको छ ।

जिल्लामा ४५ हजार ५ सय ६७ हेक्टर खेती योग्य जमिनमा ३८ हजार ९ सय २६ हेक्टरमा मात्र खेती हुँदै आइरहेको छ ।

सिँचाइ सुविधा नहुँदा यहाँका किसानहरूले आकाशे पानीको भरमा खेती गर्दै आइरहेका छन् ।

७ हजार ५९ खेत र ३१ हजार ८ सय ६७ हेक्टर पाखो बारी रहेको सल्यानमा ७ हजार ४ सय ८८ हेक्टरमा मात्र आंशिक तथा वर्ष भरी सिँचाइ सुविधा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button