७० थान अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण

जुम्ला । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिलाई ७० अक्सिजन सिलिण्डर सहित करिब २२ लाख ६४ हजार बढीको स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
वल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा साझेदार संस्था किर्डाक नेपाल जुम्लाको समन्वयनमा ४६ लिटरको ७० वटा अक्सिजन सिलिण्डर, ७० वटा पल्स अक्सिमिटर, ७० वटा थर्मल टेम्पेचर गन, ७० सेट पिपिई, ६ प्याकेट सर्जिकल मास्क, ३९ वटा एन नाइन्टी फाइभ मास्क, ६ वटा हेन्डवास सप र ५ लिटरको २ वटा स्यानिटाइजर जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई हस्तान्तर गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशम शाहीले बताउनुभयो
वल्ड भिजन इन्टरनेशनल नेपाल जुम्लाका प्रतिनिधि शुक्रराज गुरुङ सहितको उपस्थितिमा सामान हस्तान्तरण गरिएको हो ।
सिलिण्डर सहितका स्वास्थ्य सामाग्री ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले गैरसरकारी निकायको सहयोगले कोरोना रोकथाम तथा नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उहाँका अनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिलाई प्राप्त सबै स्वास्थ्य सामाग्री कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्थानीय तहलाई हस्तान्तरण गरिने छ ।
एकद्वार प्रणालीबाटै सहयोगी दाताले आवश्यक राहत तथा स्वास्थ्य सामाग्री उपलब्ध उपलब्ध गराउने निर्णय भए अनुसार वल्ड भिजन इन्टरनेशनल , किर्डाक र रेडक्रसले एकद्वार प्रणाली शुरुवात गरेकोमा प्रजिअ थापाले धन्यवाद दिनुभयो ।
जिल्लामा क्रियाशील गैरसरकारी संस्थाहरूलाई पनि पछिल्लो समयमा कोरोना रोकथाम र नियन्त्रणमा ठोस काम गर्न अनुरोध गरेपछि सहयोग दिने क्रम शुरु भएको छ । यसका साथै प्लान नेपाल सँग पनि अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराउन शुरु गरिएको छ । अघिल्लो जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकमा जिल्लामा अक्सिजन आवश्यक पर्ने भएकाले गैससलाई समेत लगानी गर्न अनुरोध गरिएको छ ।
रेडक्रसद्वारा पनि स्वास्थ्य सामाग्री सहयोग
नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न आवश्यक स्वास्थ्य सामाग्री जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिलाई प्रदान गरेको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको निर्णय अनुसार एकद्वार प्रणालीमा स्वास्थ्य सामग्री गर्ने भएपछि रेडक्रसले समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
नेपाल रेडक्रसले विगत एक वर्ष देखि कनक सुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिका भित्र लक्षित गरी कोभिड पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम सञ्चालन गर्दै आएको थिए । यो स्वास्थ्य सामग्री नेपाल रेडक्रसलाई चीन रेडक्रसबाट सहयोग भएको हो ।
सर्जिकल माक्स २६ हजार थान, एन ९५ मास्क ८५० वटा, पिपिई सेट २० सेट लगायतको स्वास्थ्य सामग्री जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको रेडक्रस शाखा जुम्लाले जनाएको छ ।
यस्तै सर्जिकल मास्क १०,००० थान, पिपिई सेट २० र बाँकी स्वास्थ्य सामाग्री नेपाल रेडक्रस सोसाइटी जुम्लाले यहाँका उपशाखा मार्फत स्थानीय तहका प्रतिनिधिको उपस्थितिमा समुदाय स्तरमा वितरण गरिने छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाले विभिन्न स्थानमा सञ्चालन भई रहेका क्वारेनटाइन साइटहरूको सहयोगका लागि १०० परिवार जतिलाई पुग्ने गैर खाद्य सामाग्रीहरू समेत नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयसँग माग गरिएको रेडक्रस जुम्ला मन्त्री इन्द्र राज डाँगीले बताउनुभयो ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार जिल्लामा एकद्वार प्रणाली मार्फत स्वास्थ्य सामाग्री वितरण गर्ने गरी दाताहरूबाट सहयोगी भएको छ । उनले भने कोरोना महामारीमा आवश्यक पर्ने स्वास्थ्य सामग्री रेडक्रस जुम्लाबाट कोभिड सङ्कट व्यवस्थापन समितिलाई सहयोग प्राप्त भएको छ । यसलाई आवश्यकताका आधारमा एकद्वार प्रणालीमा स्थानीय तह र अस्पतालमा पठाइने छ ।








प्रतिक्रिया राख्नुहोस्