तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यकर्मीलाई दैनिक पौष्टिक आहार खुवाउँदै एकल महिला समूह

काठमाडौँ । मानव अधिकारका लागि महिला, एकल महिला समूह (डब्लुएचआर) ले विभिन्न सरकारी अस्पतालमा कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सहयोगी कर्मचारीलाई दैनिक पौष्टिक आहार सेवा सञ्चालन गर्दै आएको छ । शरीरमा शक्ति आर्जन हुने दैनिक बिहान दूध, केरा, चना, आलु खीर बिस्कुट, पाउरोटी र लोकल अण्डाजस्ता पौष्टिक आहार ख्वाउने अभियान चलाइएका जनाइएको छ ।
जोखिमयुक्त काममा लगातार खट्नुपर्ने अग्र मोर्चाका करिब चार सय व्यक्तिलाई समूहले आफैले पकाएको तातो पौष्टिक खानेकुरा सम्बन्धित कार्यक्षेत्रमा दैनिक रुपमा निःशुल्क उपलब्ध गर्दै आएको छ । सो संस्थाले गत वैशाख २६ गतेदेखि काठमाडौँको वीर अस्पताल, कान्ति बाल अस्पताल, प्रसूति गृह, ओम अस्पताल, नेपालगन्जको भेरी अञ्चल अस्पताल, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र शव व्यवस्थापनमा खटिएका सहयोगी कर्मचारीलाई यो सेवा दिइरहेको समूहका कार्यक्रम प्रबन्धक राजन रायमाझीले जानकारी दिनुभयो ।
सो समूहको सक्रियतामा चन्द्रागिरि नगरपालिकाभित्रका चार आइसोलेसन सेन्टरमा रहेका दैनिक बिहानको नास्ता र पौष्टिक आहार पनि प्रदान हुँदै आएको छ । “हजुरहरू एक्लो हुनुहुन्न, हामी साथमा छौँ, आफू पनि बाँचौँ अरूलाई पनि बचाऔँ’’ नाराका साथ समूहले ताजा र सन्तुलित भोजन उपलब्ध गराएको हो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button