सोलुखुम्बुका स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग

सोलुखुम्बु । नेपाल मेड जर्मनीको सहयोगमा नेपाल मेड नेपालले सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
कोरोना सङ्क्रमणको दोस्रो लहर नियन्त्रण तथा सङ्क्रमितको उपचार सहजताका लागि पाँच थान अक्सिजन कन्सन्ट्रेटर, १० थान अक्सिमिटर, पाँच थान निबोलाइजर, १४० थान स्यानिटाइजर र १२० बाकस मास्क सहयोग प्रदान गरेको नेपाल मेड नेपालका कोषाध्यक्ष ङवाङठिले शेर्पाले जानकारी दिनुभयो ।
सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पालाई लामो समयदेखि स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आएको नेपाल मेड नेपालले विपद् सामनाका लागि सहयोग सामाग्री कोषाध्यक्ष शेर्पाले हस्तान्तरण गर्नुभयो ।
स्वास्थ्य सामाग्री ग्रहण गर्दै मेयर शेर्पाले कोरोनाको सङ्कट सामनामा हातेमालो गरेकोमा नेपाल मेड नेपाल र नेपाल मेड जर्मनीलाई धन्यवाद दिनुभयो । प्राप्त सामाग्रीले कोरोना सङ्क्रमितको उपचारमा सहजता प्रदान गर्ने उहाँको भनाइ छ ।
त्यस्तै, सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकालाई एक्सन फर नेपालले करिब १० लाख रुपियाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग उपलब्ध गराएको छ ।
एक्सन फर नेपालको कोभिड १९ रेस्पोन्स परियोजना अन्तर्गत अक्सिजन कन्सन्ट्रेटर दुई वटा, एन्टीजेन किट १०० वटा, पिपिई सेट ५० वटा, मास्क, स्यानिटाइजर लगायत विभिन्न १२ प्रकारका अति आवश्यकीय स्वास्थ्य सामाग्री माप्य दूधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धि किरण राईलाई हस्तान्तरण गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्