मतदाता परिचयपत्रका, नागरिकता र राष्ट्रिय परिचयपत्र देखाएर पनि मतदान गर्न सकिने

यही जेठ १७ गते हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा मतदाता परिचयपत्रका साथै नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र देखाएर पनि मतदान गर्न पाइने भएको छ ।
निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सकिने गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबीच उपनिर्वाचनका सन्दर्भमा आज राति १२ः०० बजेदेखि निर्वाचन मौन अवधि शुरु हुँदैछ । मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने मात्र होइन, मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ ।
यसै गरी, जेठ १७ गते बिहान नौ बजेदेखि दिउँसो तीन बजेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा निर्वाचन हुनेछ भने निर्वाचनका लागि तीन वटा मतदान केन्द्र तोकिएको छ । जस अन्तर्गत एउटा केन्द्र(क)मा प्रदेशसभा सदस्य, केन्द्र(ख)मा नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, र केन्द्र(ग)मा कोरोना संङ्क्रमितहरुले छुट्टा छुट्टै मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्