कोभिड–१९ विरुद्धको खोप किन्न हेलम्बु गाउँपालिकाले माग्यो स्वीकृति
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग स्वीकृति मागेको छ ।
गाउँपालिकाले आफ्ना नागरिकका लागि ३० हजार डोज खोप आफैँ खरिद गर्ने जनाउँदै मन्त्रालयसँग मङ्गलवार पत्राचार गरी स्वीकृति मागेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।
पालिकाले आफैँ खोप किन्ने निर्णय गर्दै सरकारसँग खरिद अनुमति मागेको हो ।
कोभिड–१९ को दोस्रो लहरपछि संक्रमित बढेसँगै हेलम्बुवासीको जीवन रक्षा गर्न पालिकाकै स्रोत साधनले खोप किन्न अनुमित मागेको अध्यक्ष शेर्पाले बताउनुभयो ।
सबै गाउँपालिकाका नागरिकलाई १५ हजार डोज आवश्यक पर्नेछ । उक्त खोप दुई मात्रा लगाउँदा ३० हजार आवश्यकता पर्ने भएकाले ३० हजार डोज खोपको माग गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो ।
सङ्घीय सरकारले खोपको व्यवस्था गर्न नसक्ने यदि हो भने स्थानीय तहलाई तुरुन्त अनुमति दिएर प्रक्रिया अघि बढाउनुपर्ने अध्यक्ष शेर्पाको भनाइ छ ।
गाउँपालिकाले बिहीबार खोप खरिदका लागि अनुमति दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ । ‘सम्भव भएसम्म सङ्घीय सरकारबाटै यस गाउँपालिकाको लागि जनसङ्ख्याको आधारमा ३० हजार डोज खोप उपलब्ध गराई पाऊँ । सम्भव नभए खोप खरिदको लागि अनुमति पाउन अनुरोध गरिन्छ,’ पालिकाले मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ ।
समयमै कोरोनाविरुद्धको खोप लगाएर स्वास्थ्य मापदण्ड अपनाउने हो भने धेरै नियन्त्रण गर्न सकिने आवाज नागरिक स्तरबाट समेत आउँदा दबाब महसुस भई आफैँले खरिद गरी नागरिकलाई छिटोभन्दा छिटो खोप दिलाउन प्रक्रियागत ढङ्गले स्वीकृति मागिएको शेर्पाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्