टोकियो ओलम्पिकका जापानी प्रतिनिधिलाई अर्को हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने

टोकियो । टोकियो ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरूलाई अर्को हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने भएको जापान सरकारले जानकारी दिएको छ ।
जापानको ओलम्पिक कमिटीले बिहीबार गरेको घोषणाअनुसार जापानको राजधानी टोकियो हुन गइरहेको ओलम्पिक खेलमा सहभागी हुनुपर्ने ती प्रतिनिधि एवं खेलाडीहरूलाई आगामी जुन १ तारिखबाट खोप लगाउन सुरु गरिने भएको जानकारी दिएको छ ।
समाचारअनुसार जापानको ओलम्पिक कमिटीले आगामी मङ्गलवारबाट ती प्रतिनिधिहरूलाई खोप लगाइने भएको हो । सो ओलम्पिकमा जापानका एक हजार ६०० एथलेटिक्सका खेलाडी, सरकारी अधिकारीहरू र प्रशिक्षकहरू हुने बताइएको छ ।
उनीहरूलाई आगामी मंगबालरबाट टोकियोमा रहेको नेशनस ट्रेनिङ सेन्टरमा खोप दिइने बताइएको छ । ती प्रतिनिधिहरूलाई अमेरिकाको खोप निर्माता कम्पनी फाइजर आइएनसीले खोप दिने जनाएको छ ।
जापान सरकारले यहाँका नागरिकलाई खोप लगाइरहेको छ । तर पनि जापानमा अहिलेसम्म जम्मा दुई प्रतिशत नागरिकलाई मात्र खोप दिइएको छ ।
जापानको राजधानी टोकियोमा आगामी जुलाई २३ देखि अगष्ट ८ तारिखसम्म ओलम्पिक खेलको आयोजना गरिएको छ । रासस/सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्