महामारी नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य नै सबैभन्दा ठुलो औजार : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मानव जीवनको रक्षाका लागि आपसी सहयोग र अनुभव आदान(प्रदान महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै अध्यक्ष तिमिल्सिनाले अहिलेको पुस्ताले भोग्नुपरेका महामारी मध्येमा यो सबैभन्दा ठुलो मानवीय सङ्कट भएकाले आपसी सहयोग र अनुभव आदान(प्रदानबाट यसलाई पराजित गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले नेपालमा क्रियाशील मुख्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सहभागी गराएर महत्त्वपूर्ण कार्यक्रम आयोजनाका गरेकोमा चिनियाँ कम्युनिष्ट पार्टीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
“विश्व नै एक गाउँका रुपमा स्थापित एक्काइसौँ शताब्दीको अन्तर निर्भर विश्वमा कोभिड–१९ जस्तो महामारी परास्त गर्न अन्तर्राष्ट्रिय सहकार्य नै सबैभन्दा ठुलो औजार हो,” अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “यस महामारी विरुद्धको लडाइमा महामहिम राष्ट्रपति सी चीनफिङको सबल नेतृत्वमा चीनले अग्रणी भूमिका निर्वाह गरिरहेको छ । महामारीको समयमा राज्येले खेल्नुपर्ने भूमिका, संक्रमण दर तीव्र भएको कोरोना जस्तो भाइरसको फैलावट रोक्ने विधि ‘लकडाउन’देखि कोभिड प्रतिरोधी खोपको विकासमा चिनियाँ मोडल विश्वव्यापी भएको छ।”

चीनले स्वयं महामारीसँग जुधिरहेको समयमा समेत नेपाल सहितका छिमेकी र अन्य मुलुकहरुलाई गरेको सहयोग स्मरणीय रहने बताउनुभयो। महाभारीका समयमा अत्यावश्यक सामग्री उत्पादन र वितरण गरी चीनले आफूलाई विश्वको उदाउँदो शक्ति रुपमा स्थापित मात्रै गरेको छैन, समग्र मानवीय हित रक्षाको अगुवाको पहिचान बनाएको छ, उहाँले अघि भन्नुभयो ।
क
अध्यक्ष तिमिल्सिनाले नेपालमा पहिलो वेभका बेला तुलनात्मक रुपमा कम क्षति भए पनि दोस्रो वेभको संक्रमण र मृत्युदर नियन्त्रणका लागि अस्पतालको शय्या, अक्सिजन, आइसियु, भेन्टिलेटर, व्यक्तिगत स्वास्थ्य सुरक्षा सामाग्री (पीपीई), जीवनवर्धक औषधी र खोपको व्यवस्थापनका लागि मित्र राष्ट्र चीनबाट भएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।
“पछिल्लो पटक चीनले उपलब्ध गराएको अक्सिजन सिलिण्डरका कारण मात्रै पनि हजारौँ नेपालीको जीवन रक्षामा सहयोग पुगेको छ,” उहाँले भन्नुभयो, “चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसिल खोप लिएका नागरिकमा अब महामारी परास्त गर्न सकिन्छ भन्ने आत्मविश्वास देखिन्छ । अन्य लाखौँ नागरिक त्यस्तै खोपको प्रतीक्षामा छन्।”
अध्यक्ष तिमिल्सिनाले महामारीको अवस्थामा मानव जीवनको रक्षा नै सबैको पहिलो प्राथमिकता हुनुपर्ने सो क्रममा बताउनुभयो।
कार्यक्रममा नेपालबाट एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस नेता डा. नारायण खड्कालगायत विभिन्न दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
त्यसै गरी चीनको तर्फबाट विदेश विभागका मन्त्री सोङ ताव र उपमन्त्री चेन झोउ लगायतको प्रतिनिधिमण्डल सहभागी हुनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्