प्रयोग गरिएका मास्क जथाभाबी फाल्दा सङ्क्रमणको जोखिम
अछाम । कोरोना भाइरस सङ्क्रमण बढेसँगै अछाममा पनि मास्क लगाउने सर्वसाधारणको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
यद्यपि मास्क प्रयोग गरिसकेपछि जथाभाबी फाल्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढेको छ ।
सडक, सडक पेटी र बजार क्षेत्रमा प्रयोग भएको मास्क जथाभाबी फालिएकाले जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका हुन् ।
मास्कको उचित प्रयोग र विसर्जन गर्न नजान्दा सङ्क्रमण फैलिन सक्ने बयालपाटा अस्पतालका मेडिकल सर्किजल निर्देशक डाक्टर मन्दीप पाठकले बताउनुभयो ।
मास्कको उचित व्यवस्थापन नगरी जथाभाबी फाल्ने गरेमा कोरोना सङ्क्रमणको जोखिम बढ्ने उहाँको भनाइ छ ।
मास्क खोल्दा र लगाउनुअघि हात पूर्ण रूपमा सेनिटाइज वा साबुन पानीले धुनुपर्ने र मास्कलाई गोलो बनाएर बिर्को लगाएको डस्टविनमा हाल्नुपर्ने वा जलाउनुपर्ने डाक्टर पाठकको सुझाव छ।
मास्कमा धातु र प्लास्टिक हुने हुँदा ती वस्तुमा कीटाणु लामो समयसम्म बस्ने गरेको अध्ययनले देखाएको छ ।
आम नागरिकले मास्कको उचित प्रयोग र विसर्जनका बारेमा गम्भीर हुन सके सङ्क्रमण न्यूनीकरणमा सहयोग पुग्ने स्वास्थ्यकर्मीले अपेक्षा गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्