पर्वतमा निषेधाज्ञा एक हप्ता लम्बियो

पर्वत । कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय पर्वतले लागु गरेको निषेधाज्ञा थप एक हप्ता लम्बिएको छ । जिल्लाको कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी यही जेठ १५ गतेसम्म निषेधाज्ञा थपिएको जानकारी दिनुभयो ।
राष्ट्रिय गौरवका आयोजना र सार्वजनिक विकास निर्माणका आयोजनाहरूको काम भने निषेधाज्ञामा नरोकिने भएको छ । अत्यावश्यक सेवा २४ सै घण्टा खुल्ला हुने भए पनि बजार पसल बिहान ७ देखि ९ बजेसम्म अर्थात् २ घण्टा मात्रै खुल्ला हुने भएको छ ।
अत्यावश्यक सेवाका सरकारी कार्यालयहरू बाहेक सबै बन्द गर्न भनिएको छ । बैङ्क तथा वित्तीय संस्था समेत निषेधाज्ञामा बन्द गरिएको छ । सर्वसाधारणलाई घरबाहिर नडुल्न, स्वास्थ्यका मापदण्ड पालना गर्न, भौतिक दुरी कायम गर्न प्रशासनले अनुरोध गरेको छ । पर्वतमा दिनदिनै कोरोना संक्रमण बढ्दो क्रममा छ ।
विद्यालय, सिनेमा हल, सार्वजनिक समारोह, विवाह, व्रतबन्ध, चौरासी पूजा सबै रोकिएको छ । मठमन्दिर, गुम्बा, मस्जिदमा हुने प्रार्थना, पूजापाठहरू निषेधाज्ञा अवधिमा बन्द छन् ।
जिल्लामा मध्य पहाडी लोकमार्ग, कालीगण्डकी लोकमार्ग र मोदी लेखनाथ विद्युत् प्रसारण आयोजनाको निर्माण कार्य भइरहेको छ । यी मध्ये दुई वटा गौरवका आयोजनाका सडकहरूको निर्माण कार्य तीव्र गतिमा छ । मुख्य गरी मध्य पहाडी लोकमार्गमा निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ । कालीगण्डकी लोकमार्गमा पनि निर्माणको काम भइरहेको छ । यी सबै आयोजनाहरूमा काम नरोकिने भएको हो ।
यसै गरी जिल्लामा विभिन्न सडकहरूमा पूर्वाधार विकास कार्यालयले पनि सडक निर्माणको काम भने स्थानीय तह र अन्य कार्यालयहरू मार्फत पनि पूर्वाधार विकासको काम भइरहेको छ । सबै आयोजनाहरूमा पूर्वाधार निर्माणको कामलाई गति दिने गरी समन्वय गरिने प्रशासन कार्यालयले उल्लेख गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्