बिरामीको मनोबल बढाउन नगरप्रमुख घरदैलोदेखि अस्पतालसम्म

अछाम । कोरोना रोकथाम तथा नियन्त्रणमा जिल्लाको साँफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुँवर यति बेला सक्रिय भएर खटिरहनु भएको छ ।
उहाँले अस्पतालको अवस्था बुझ्ने देखि घरदैलो गर्दै कोरोना संक्रमित बिरामीको अवस्थाका बारेमा पनि जानकारी लिइरहनु भएको छ ।
उहाँले सङ्क्रमितको मनोबल उच्च बनाउनका लागि रचनात्मक अभियानको थालनी गर्नुभएको पाइएको छ ।
आफ्नो नगरपालिकाका सङ्क्रमितलाई भेट्न नगर प्रमुख कुँवर औषधि र केही खानेकुरा लिएर घरदैलो गरिरहनु भएको छ।
भोट माग्न मात्र घरदैलो गर्ने नेताहरूको लागि चुनौती दिँदै नगर प्रमुख कोरोना कहरमा समेत सक्रिय रहेर घरदैलो गरिरहनु भएको छ ।
नगर प्रमुख कुँवरले स्वास्थ्यकर्मीसहित घरघरमै गएर सङ्क्रमितहरूको मनोबल उच्च बनाउन सुझाव दिने गरेका छन् ।
कोरोना सङ्क्रमितको उपचार भन्दा पनि मनोबल कमजोर भएका कारण समस्या देखिएको भन्दै घरघरमै पुगेको उहाँले बताउनुभयो ।
साँफेबगर नगरपालिका वडा नम्बर १ वैजनाथमा कोरोना संक्रमण भई होमआइसोलेसनमा बसेका परिवारलाई उहाँले भेटघाट गर्नुभएको छ । कोरोना सङ्क्रमणबाट बच्नको लागि वडावासीलाई सजक रहन पनि उहाँको आग्रह छ ।
घरमै आइसोलेसनमा बसेका सङ्क्रमितलाई थप केही समस्या भएमा खबर गर्न उनको आग्रह छ । घरघरमै आएर कोरोना सङ्क्रमितको मनोबल उच्च बनाउने नगर प्रमुख काम प्रशंसनीय भएको वैजनाथका स्थानीय डण्डीराज जोशीको भनाई छ ।
नगर प्रमुख कुँवरको टोलीले वैजनाथका सङ्क्रमितलाई भेटे लगतै वयलपाटा अस्पतालमा उपचारार्थ कोरोना संक्रमित सँग पनि भेटघाट गर्नुका साथै वयालपाटा अस्पताल अस्पतालको अवस्थाका बारेमा पनि जानकारी लिनुभएको छ ।
अस्पताललाई नगरपालिकाबाट हुने सम्पूर्ण सहयोग हुने प्रतिबद्धता गर्दै अस्पतालमा उपचारार्थ कोरोना सङ्क्रमितलाई उच्च मनोबल बनाउन सुझाव दिनुभयो ।
अस्पताल तत्काल देखिएको समस्याका बारेमा मेडिकल निर्देशक डा. मन्दिप पाठकसँग जानकारी लिएका थिए । मेडिकल निर्देशक डा. पाठकले नगरको सहयोगले कोरोना सङ्क्रमितको उपचारमा अहिले सहज भएको धारणा व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्