कोरोनाको प्रभाव : सोलार बिजुली उत्पादनमा ढिलाइ

तनहुँ । कोरोना सङ्क्रमण दर बढेसँगै जारी गरिएको निषेधाज्ञाका कारण तनहुँको बेलचौतारामा निर्माणाधीन सोलार फार्म प्रालिको सोलार विद्युत् उत्पादनमा ढिलाइ भएको छ ।
निर्माणको अन्तिम चरणमा रहे पनि भारतबाट आउनुपर्ने सोलार प्यानलको अभाव हुँदा बिजुली उत्पादनमा ढिलाइ भएको प्रालिका निर्देशक मनकारी गुरुङले जानकारी दिनुभयो ।
निर्देशक गुरुङका अनुसार हालसम्म करिब ९० प्रतिशत कार्य सकिएको छ । ५ मेगावाटको सौर्य बिद्युत् उत्पादनको लागि २०७६ साल भदौ महिनाभित्र उत्पादन गर्ने लक्ष्य राखिए थियो ।
“हाल सोलार स्ट्याण्ड तयार भइसकेको छ ।”, गुरुङले भन्नुभयो,“प्यानल नआएका कारण काम रोकियो ।”
गत बर्ष र यस बर्ष दुई पटक बन्दाबन्दीको मारमा परेको प्रालिले बिद्युत् उत्पादन गर्न अनुमानित लागतभन्दा बढी खर्च हुने जनाएको छ ।
शुक्लागण्डकी नगरपालिका–५ मा रहेको भानुभक्त बहुमुखी क्याम्पसको एक सय रोपनी क्षेत्रफलमा निर्माण हुँदै गरेको सोलार फार्म भारतको रेनेर्गो डेभलोपर्स प्रालिले ४२ करोड रुपैयाँमा सम्झौता गरी निर्माण गरिरहेको छ ।
फार्मबाट उत्पादित बिद्यूत करिब ५ सय मिटर रहेको बेलचौतारा सब स्टेसनमा लगेर जोडिने छ ।
आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणलाई प्रतियुनिट ७.३० रुपैयाँमा बिक्री गर्ने सम्झौता भइसकेको छ । ५ मेगावाट विद्युत् उत्पादनका लागि १३ हजार ४ सय ९४ प्यानल राखिने छ ।
निर्देशक गुरुङका अनुसार दैनिक सरदर ६ घण्टा बिजुली उत्पादन हुने छ । प्रति घण्टा ५ हजार युनिटका दरले दैनिक ३० हजार युनिट बिजुली उत्पादन हुने आयोजनाले जनाएको छ ।
आयोजनाबाट वार्षिक १ करोड ९ लाख युनिट उत्पादन हुने बताइएको छ ।
मिटरमा चढेको युनिट अनुसार प्राधिकरणले आयोजनालाई पैसा बुझाउँछ । उक्त आयोजनाबाट वार्षिक करिब ८ करोड रुपैयाँ आम्दानी हुने आयोजनाले जनाएको छ ।
२५ वर्षका लागि भाडामा लिएको परिसरमा तार बिछ्याउने कार्यसहित भौतिक संरचना र आवश्यक उपकरणहरू जडान भइसकेको छन् भने सोलार स्याण्डहरु तयार पारिएको छ ।








प्रतिक्रिया राख्नुहोस्