तपाईँ सुन्दै हुनुहुन्छः

सल्यान जिल्ला अस्पताललाई २० वटा अक्सिजन सिलिन्डर प्रदान 

सल्यान । सेल्फ हेल्प अभियान समूहले सल्यान जिल्ला अस्पताललाई २० वटा अक्सिजन सिलिन्डर प्रदान गरेको छ ।

सेल्फ हेल्प समूहले अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार अभियान सञ्चालन गरी सामाजिक सञ्जालबाट आर्थिक सङ्कलन गरेको थियो ।

सामाजिक सञ्जालबाटै सञ्चालन गरिएको अभियानबाट प्राप्त भएको रकमले जिल्ला अस्पताल सल्यानलाई ४ लाख ४० हजारको लागतमा २० अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको पत्रकार तथा अभियन्ता आषिक केसीले जानकारी दिनुभयो ।

अक्सिजनको अभावमा कोरोना संक्रमितहरु तड्पिएको देखेपछि उक्त अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो  ।

सबै नेपालीको एक एक पसिना जम्मा गरेर अस्पतालको सम्पत्तिको रुपमा सिलिन्डर प्रदान गरेको अर्का अभियन्ता गोविन्द शर्माले बताउनुभयो । उहाँले अक्सिजनको कमीले कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउन नपर्ने आसाका साथ अभियान सञ्चालन गरेको बताउनुभयो  ।

एक हप्ता सञ्चालन गरिएको अभियानमा ५ लाख २१ हजार रकम सङ्कलन भएको र ४ लाख ४० हजारको अक्सिजन सिलिन्डर खरिद गरेको शर्माले जानकारी दिनुभयो ।

सङ्कलन गरिएको केही रकम बचेको र उक्त बचेको बचतलाई पनि सदुपयोगको लागि अर्को अभियानको पनि तयारी भइरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button