वडाध्यक्षको खर्चमा निःशुल्क एम्बुलेन्स सेवा
बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ का वडाध्यक्षले व्यक्तिगत लगानीमा अक्सिजन सहितको निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्नुभएको छ ।
बढ्दो कोरोना सङ्क्रमणका कारण वडावासीलाई अस्पताल आउजाउ गर्न सहज बनाउने उद्देश्यले उक्त निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो ।
वडा नम्बर–१८ का वडाध्यक्ष दीपक बर्माका अनुसार व्यक्तिगत खर्चमा सञ्चालनमा ल्याइएको अक्सिजन सहितको एम्बुलेन्सले वडा नम्बर– १८ का बासिन्दा सहित नेपालगन्ज उपमहानगर भित्रका सबै सङ्क्रमितलाई आवश्यकता अनुसार सेवा प्रदान गने उद्देश्य रहेको छ ।
होम आइसोलेसनमा रहेका संक्रमित भेटघाट गर्ने क्रममा अधिकांशले एम्बुलेन्स नपाएको गुनासो गरेपछि व्यक्तिगत खर्चमा निःशुल्क एम्बुलेन्स सञ्चालन गरिएको वडाध्यक्ष बर्माले बताउनुभयो ।
होम आइसोलेसनमा बसेका संक्रमित अस्पताल जानुपर्दा एम्बुलेन्सले सेवा दिन हिचकिचाउने, फोन रिसिभ नगर्ने तथा सेवा दिन आनाकानी गरेकाले समस्यामा रहेका वडावासीका लागि सेवा सञ्चालन गरिएको वडाध्यक्ष बर्माको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्