हिमालयन बैङ्क र इन्भेष्टमेण्ट बैङ्क एकापसमा गाभिँदै

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको विलय तथा प्राप्ति (मर्जर एण्ड एक्वीजिसन) नीतिअनुसार नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटे र हिमालयन बैङ्क लिमिटेडबिच एक आपसमा गाभ्ने गाभिनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै देशका यी ठुला वाणिज्य बैङ्क एकापसमा गाभिने भएका छन् ।
नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ उक्त समझदारी पत्रमा नेपाल इन्भेष्टमेण्ट बैङ्कका तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा हिमालयन बैङ्कका तर्फबाट अध्यक्ष तुलसीप्रसाद गौतमले आज राजधानीमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।
दुवै बैङ्क एकाकार भएपछि बैङ्कको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैङ्क लि” हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रूपमा अशोक शमशेर राणा रहने सहमति भएको छ । त्यसै गरी गाभिएपछि गठन हुने बैङ्कको सञ्चालक समितिमा दुवै बैङ्कको तर्फबाट ३÷३ जना सञ्चालक नियुक्त हुने तथा नयाँ सञ्चालक समितिले एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति हुनेछ ।
कार्यक्रममा दिइएको जानकारीअनुसार हाल नेपाल इन्भेष्टमेण्ट बैङ्कको चुक्ता पुजी रु.१६.२६ अर्ब तथा हिमालयन बैङ्कको चुक्ता पू‘जी रु. १०.६८ अर्ब रहेकोमा दुवै बैङ्क एक भएपछि बैङ्कको चुक्ता पुजी रु. २६.९४ अर्ब हुनेछ । रासस








प्रतिक्रिया राख्नुहोस्