दोलखामा सङ्क्रमितको सुरक्षा र सहयोगको लागि विभिन्न कार्यक्रम घोषणा
दोलखा । दोलखा जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएपछि स्थानीय तहहरूले सङ्क्रमितको सुरक्षा र सहयोगको लागि विभिन्न कार्यक्रमहरू घोषणा गरेका छन् ।जिल्लाको भीमेश्वर नगरपालिकाले नगरभित्रका कोरोना संक्रमित बिरामीहरूलाई पोषण भत्ता बापत प्रति बिरामी दुई हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । त्यसैगरी कोरोना संक्रमित बिरामीलाई अन्यत्र उपचारको लागि लानुपर्ने अवस्थामा एम्बुलेन्स खर्च बापत आठ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख भरतबहादुर केसीले बताउनु भयो ।
त्यसैगरी कोरोना संक्रमित बिरामीको मृत्यु भएको अवस्थामा सामाजिक कार्य गर्न मृतकको परिवारलाई १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख केसीले बताउनुभयो ।
जिल्लाको तामाकोसी गाउँपालिकाले कोरोना सङ्क्रमितलाई आवश्यक पर्ने औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । कोरोना संक्रमित बिरामीलाई आवश्यक पर्ने सबै प्रकारका औषधि घर घरमै पुर्याईने पालिका प्रमुख ईश्वरचन्द्र पोखरेलले बताउनुभयो । कोरोना संक्रमित बिरामीको लागि आवश्यक पर्ने भिटामिन सी, मल्टिभिटामिन, सिटामोल, खोकीको औषधि लगायतका औषधिहरू खरिद गरिसकिएको तामाकोसी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले बताउनु भयो ।
आपत्तकालिन अवस्थामा प्रयोग गर्न सदरमुकाम चरिकोट अस्पतालमा पाँच वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । चरिकोट अस्पताल सहित च्छो रोल्पा जनरल अस्पताल, सामुदायिक अस्पताल र गजेन्द्र फाउन्डेसनको एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले बताउनु भयो ।
त्यसैगरी सदरमुकाम चरिकोटमा रहेको लालिगुरास युवा क्लबले भीमेश्वर नगरपालिका वडा नम्बर ३, चरिकोट गुठी, दोलखा उद्योग वाणिज्य सङ्घ, चरिकोट खानेपानी परिवार लगायतको सहयोगमा चरिकोट अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामी, बिरामीको कुरुवा र स्वास्थ्यकर्मीहरूलाई जेठ १५ गतेसम्म खाना र नास्ताको व्यवस्था गरिरहेको लालिगुरास युवा क्लबका अध्यक्ष प्रवीण श्रेष्ठले बताउनुभयो ।
बुधवार ३५ संक्रमित थपिए
दोलखामा बुधवार ३५ जना कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । चरिकोट अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा एक सय २९ जनाको पिसिआर परिक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।
संक्रमण पुष्टि हुनेहरूमा भीमेश्वर नगरपालिकाका ६ जना महिला र ३ जना पुरुष गरी ९ जना, जिरी नगरपालिकाका २ जना महिला र ८ जना पुरुष गरी १० जना, सैलुङ गाउँपालिकामा ५ जना पुरुष र १ जना महिला गरी ६ जना, विगु गाउँपालिकामा १ जना पुरुष, गौरीशङ्कर गाउँपालिकामा ४ जना पुरुष, कालिन्चोक गाउँपालिकामा १ जना पुरुष र ठेगाना नखुलेका अन्य ४ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्