पर्सामा आगामी जेष्ठ६ गतेसम्म निषेधाज्ञा लम्बियो
बीरगंज । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र पर्साको आज सम्पन्न बैठकले निषेधाज्ञाको अवधिलाई लम्ब्याएर आगामी जेष्ठ ६ गते सम्म पुर्याउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना संक्रमण बढ्दै गएपछि गत वैशाख १६ गतेदेखि २२ गतेसम्म पहिलो पटक निषेधाज्ञाको घोषणा गरेको थियो ।
दोस्रो पटक निषेधाज्ञाको अवधिलाई लम्ब्याएर २२ गतेदेखि ३० गतेसम्म पुर्याएकोमा ३० गतेदेखि पुनः लम्ब्याएर आगामी जेष्ठ ६ गतेसम्म गरी तेस्रो पटक निषेधाज्ञालाई थप गरेको पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताउनुभयो ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र पर्साको आज जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पन्न बैठकले निषेधाज्ञा जारी गर्न पर्साका प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेपछि सोही आधारमा सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ अनुरूप आगामी ज्येष्ठ ६ गते राति १२ः०० बजेसम्म लागु हुने गरी जिल्लामा निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।
बैठकले नारायणी अस्पतालमा कोभिड–१९ को आरटि पिसिआर परीक्षणको कार्य ३ सिफ्टमा २४सैँ घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ । यसको लागि मेडिकल, माइक्रोबायोलोजिष्ट र ल्याब टेक्नोलोजिष्ट गरी ३ जना जनशक्ति आवश्यक प्रक्रिया पुर्याई बढीमा ३ महिनाको लागि नारायणी अस्पतालले करारमा राख्ने व्यवस्था मिलाउने र निजहरूको पारिश्रमिक डिसिसिएमसीमार्फत उपलब्ध गराउने निर्णय गरेको छ ।
यसै गरी बैठकले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुरूप बीरगंजस्थल सीमा नाका हुँदै भारतबाट आउने नेपाली नागरिकको स्वास्थ्य चेकजाँच लगायत कार्यको लागि करिब एक हजार क्षमताको होलडिङ्ग सेन्टर बनाउने प्रयोजनको लागि सीमा नाका नजिकै बीरगंज भन्सार कार्यालयको स्वामित्वमा रहेको भन्सार गोदाम पश्चिमको करिब २.५ (अढाई) बिगाहा सरकारी जग्गा उपयुक्त देखिएकोले होल्डिङ्ग सेन्टर निर्माणार्थ सोही जग्गालाई गृह मन्त्रालयमा सिफारिस गरी पठाउने निर्णय गरेको छ ।
बैठकले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई ध्यानमा राखी मुस्लिम धर्मावलम्बीहरूको महान् चाड इदको अवसरमा सबै सर्वसाधारणलाई मस्जिद, बजार जस्ता ठाउँमा भिडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै आ–आफ्नो घरमा चाडपर्व पूर्ण सजगताका साथ मनाउन अनुरोध गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्