जनकपुरधाममा प्रदेश सरकारले एक सय बेडको कोरोना अस्पतालको निर्माण थाल्यो

जनकपुरधाम । प्रदेश नंं २ सरकारले जनकपुरधामको वडा नंं १४ मुजेलियामा निर्माणाधीन अवस्थामा रहेको मणिपाल शिक्षण अस्पतालको भवनमा १ सय बेडको कोरोना अस्पतालको निर्माण आजबाट शुरु गरेको छ ।
अस्पतालको निर्माणका लागि छोटो प्रक्रिया मार्फत टेन्डर आव्हान गरेका प्रदेश सरकारले दुई सिफ्टमा निर्माणको काम गर्ने गरी प्रक्रिया अगाडि बढाएको मुख्यमन्त्रीको प्राविधिक सल्लाहकार समेत रहनु भएका जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय जनकपुरधामका प्रमुख सिनियर डिभिजनल इन्जिनियर भगवान झाले जानकारी दिनुभयो ।
२० बेडको आइसियु सहितको संरचनाका निर्माण कार्य १५ दिनमा नै सकिने गरी काम अगाडि बढाइएको छ । ३ करोड २५ लाखको लागतमा निर्माण हुने सो कोरोना अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि सबै प्रकारको सुविधाहरू रहने भएको छ ।
भवनमा झ्याल, ढोका, पार्टीसन, वायरीङ्ग, प्लम्बिङ्ग, फल्सको दलान, केही ठाउँमा प्लाष्टर, रङ्ग रोगन सहितको काम गरिने कार्यक्रम रहेको सिडिई झाले जानकारी दिनुभयो । गत वर्ष देखि नै सो ठाउँमा कोरोना अस्पताल सञ्चालन गर्ने पक्षमा प्रदेश सरकार रहे पनि कामकाज अगाडि बढाउन सकेको थिएन । कोरोनाको दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि निर्माण कार्य अगाडि बढाएको छ ।

नयाँ सञ्चालन हुने अस्पतालको जनशक्तिको व्यवस्थापनका लागि प्रदेश सरकारले गृहकार्य अगाडि बढाई सकेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । अहिले प्रदेश सरकारले प्रादेशिक अस्पताल भित्र रहेको प्रादेशिक कोरोना विशेष अस्पताल सञ्चालन गरे पनि सो अस्पतालको अवस्था अस्तव्यस्त रहेकाले नयाँ कोरोना अस्पतालको निर्माण गरिन लागेको छ ।
प्रादेशिक कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णय एवं मुख्यमन्त्री लालबाबु राउतको निर्देशनमा शुरु भएको नयाँ कोरोना विशेष अस्पतालको निर्माण भएपछि यस क्षेत्रका जनतालाई ठुलो राहत मिल्ने विश्वास गरिएको छ ।
मणिपाल शिक्षण कलेजको सो निर्माणाधीन संरचना जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले सङ्क्रामक ऐन अनुसार अधीनमा लिएर प्रदेश सरकारलाई कोरोना अस्पताल निर्माणका लागि अधिकार प्रदान गरेको छ ।
जनकपुरधामको प्रादेशिक कोरोना विशेष अस्पताल डेडिकेटेड अस्पताल भएकाले कोरोनाका गम्भीर बिरामीहरूको उपचार हुने गरेको छ । यसमा अहिले ३२ बेड सञ्चालनमा रहेको छ भने सबै बेड भरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्