बीरगंजमा आज थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

बीरगन्ज । बीरगन्जमा आज थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
गण्डकस्थित बीरगन्ज हेल्थ केयरमा उपचाररत बीरगन्ज महानगरपालिका वडा नं. ११ मा डेरा गरी बस्ने ५४ वर्षीय भारतीय नागरिक र कालिकामाई गाउँपालिका निवासी ५५ वर्षीय एक पुरुष गरी आज थप दुई जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत एवं कोभिड सम्पर्क व्यक्ति विनय कुमार श्रीवास्तवले जानकारी दिनुभयो ।
बीरगन्ज महानगर वडा नं. ११ मा डेरा गरी बस्ने ५४ वर्षीय पुरुषको बिहीबार स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बीरगंज हेल्थ केयरमा भर्ना गरिएको र उनको एन्टिजेन विधिबाट गरिएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको थियो ।
त्यसै गरी कालिकामाई गाउँपालिका वडा नं. ६ निवासी ५५ वर्षीय पुरुष पनि बीरगन्ज हेल्थ केयरमै उपचाररत रहेका थिए ।
गत वैशाख २२ गते अस्पताल भर्ना भएका उनको पनि बिहीबार नै एन्टिजेन विधिबाट गरिएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको थियो । ती पुरुषको मृत्यु आज बिहान ८ बजे भएको प्रशासकीय अधिकृत श्रीवास्तावले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय पर्साले दिएको तथ्याङ्क अनुसार गत वैशाख यता पर्सा जिल्लाका ३८ जनाले कोरोना सङ्क्रमणको कारण ज्यान गुमाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्