तपाईँ सुन्दै हुनुहुन्छः

यार्सा टिप्न गएका युवकको लेक लागेर मृत्यु

जुम्ला । जीवनबुटि मानिने बहुमूल्य जडिबुडी यार्सा गुम्बा टिप्न डोल्पा पाटन गएका जुम्ली एक युवाको मृत्यु भएको छ ।  जुम्ला जिल्ला गोठीचौर गाउँपालिका ७, ग्रज्याङ्कोटका निवासी १७ वर्षीय युवा सुमन रावलको डोल्पाको एक पाटनमा लेक लागेर मृत्यु भएको हो ।
जुम्ला–डोल्पा सिमानामा पर्ने जगदुल्ला गाउँपालिका अन्तर्गत पर्ने यार्सा पाटनमा यार्सा सिजन खुल्नु अगावै सङ्कलन लागि गएका जुम्लाका रावलको लेक लागेर बिरामी भएपछि काइगाउँ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको डोल्पा जिल्लाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
लेक लागेर सिकिस्त बिरामी परेका रावललाई  बचाउन धेरै प्रयास गरे पनि नसकिएको काइगाउँ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूले बताएका छन् । मृतक रावलको शव अन्तिम संस्कार गर्न जुम्ला तर्फ ल्याइएको प्रहरीले जनाएको छ ।  कोरोना कहरका कारण अघिल्लो वर्ष नखुलेका यार्सा पाटन यस वर्ष भने आगामी जेष्ठ १० देखि खुलाउने निर्णय गरिएको छ ।
चार जना पक्राउ 
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा पर्ने भोक्पा, भाँङ्का यार्सा पाटनमा यार्सा सङ्कलनका लागि पुगेका जुम्लाका चार जना नागरिक पक्राउ परेका छन् । यार्सा पाटन खुल्नु अगावै लुकीछिपी गरी यार्सा सङ्कलन गर्न पाटन पुगेका उनीहरूलाई स्थानीयको सहायतामा निकुञ्जको गस्ती टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्ने जुम्लाका चार जना नागरिकको नाम भने खुलेको छैन । निकुञ्जको नियमित गस्ती टोलीले पक्राउ गरेको निकुञ्ज कार्यालय सुलिगाडमा ल्याइ सकिएकाले मुद्दा चलाउने तयारी भइरहेको निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button