जङ्गलमा त्रिपालमुनि सङ्क्रमितको बास

जुम्ला । कोरोना संक्रमित सिंजा गाउँपालिका–२ घोडेङ्गा गाउँका स्थानीय चन्द्रविर तिरुवा जङ्गलमा त्रिपालमुनि बसिरहेका छन् । एक हप्ताअघि पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएका तिरुवालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले होम आइसोलेसन अथवा स्थानीय तहको आइसोलेसनमा बस्न भन्दै घर पठाएको थियो ।
तर पालिकामा ५ बेडको कोभिड अस्पताल भए पनि स्रोत साधन केही नभएकोले बस्ने स्थिति रहेन । घरमा जाऊ सुरक्षित वातावरण नभएको संक्रमण फैलिने त्रास भएपछि जङ्गलमा गएर त्रिपालमुनि बस्न बाध्य भएको तिरुवाले दुखेसो गर्नुभयो ।
ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्ने बान्ता हुने लक्षण देखा परेपछि कोरोना जाँच गरे पश्चात् पोजेटिभ देखाएर जङ्गलमा बसिरहेका तिरुवालाई अहिले पनि तिनै लक्षण देखिएका छन् । तर नत उनलाई उपचार छ नत परामर्श छ यति सम्म की मुखमा लगाउने मेडिकल मास्क समेत नभएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, “सरकारले आइसोलेसन निर्माणका लागि लाखौँ खर्च गरेको छ । पालिकामा बेड मात्रै छन् कुनै स्रोत साधन छैन । अस्पतालमा स्रोत साधन छ । तर अक्सिजन दिनुपर्ने जटिल खालका संक्रमित मात्रै भर्ना लिन्छ । होम आइसोलेसन बस्दा गाउँमा त्रास बढ्छ । त्यसैले जङ्गलमा त्रिपाल टाँगेर बसेको हुँ ।”
नियमित वर्षात भएका कारण जुम्लामा गर्मी हुने समयमा पनि अत्यधिक चिसो बढेको छ । लक्षणसहित कोरोना देखिएका तिरुवा जंगलको त्रिपालमा एक्कै बसिरहेका छन् । अहिले सम्म कसैले रेखदेख सम्म गरेका छैनन् ।
कोरोना संक्रमित चन्द्रविर तिरुवा भन्छन्, “कर्णाली प्रतिष्ठानमा परीक्षण गर्दा लक्षणसहितको कोरोना संक्रमण देखियो । अस्पतालकै आइसोलेसनमा चिकित्सकको रेखदेखमा बस्ने इच्छा हुँदा पनि बस्ने वातावरण भएन । घर सानो र कोठा नभएकोले होम आइसोलेसन पनि व्यवस्था गर्न नसक्दा त्रिपालमा बस्न बाध्य छु ।”
सदरमुकामबाट करिब ६० किलोमिटर टाढा अस्पताल र चिकित्सकको पहुँच नभएको जङ्गलको छेउमा त्रिपालमुनि बसिरहेका तिरुवालाई स्वास्थ्यमा तत्काल केही समस्या आइहाले पनि तत्काल उद्धार गर्ने, औषधी उपचार गर्ने कुनै माध्यम छैन । शुरुमा निकै स्वास्थ्य गाह्रो अवस्थामा थियो । तर अहिले केही सुधार हुँदै आएको छ ।
लक्षणसहितका सङ्क्रमितलाई अस्पतालकै आइसोलेसनमा राख्नु पर्ने हो । सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल भन्नुभयो,“पालिकामा नाम मात्रको कोभिड अस्पताल छ । अक्सिजन छैन, चिकित्सक छैनन् । अन्य साधन छैन । अस्पतालको अक्सिजन प्लान्ट थन्किएको छ ।” अक्सिजन दिनुपर्ने बिरामीलाई मात्र उपचार गर्ने सरकारको निर्णय लक्षण भएका संक्रमित घर पठाउँदा संक्रमण भयावह भएको उहाँको भनाई छ ।
अस्पताले उपचार नगरे पनि तत्काल उद्धारको सम्भावना नरहेको सङ्क्रमितको स्वास्थ्यमा समस्या आए तुरुन्त उद्धार गरी सुविधायुक्त अस्पतालमा पुराउने तयारीमा जुटेको उनको भनाई छ ।
अक्सिजन दिने संक्रमित मात्रै भर्ना गर्छौ : प्रतिष्ठान
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक राजीव शाह कोरोना लक्षण देखा परेका अक्सिजन दिनुपर्ने बिरामीलाई मात्र अस्पतालमा भर्ना लिने गरेको बताउँछन् । जुम्लामा जम्मा ६६ जना संक्रमित मध्ये अस्पतालमा ११ जनाको मात्रै अक्सिजन दिएर उपचार भइरहेको छ । भने बाँकी ५५ जना भने होम आइसोलेसनमा बसेको निमित्त निर्देशक शाहको भनाई छ ।
उहाँले भन्नुभयो, “राज्यको प्रोर्टाेकल अनुसार अक्सिजन, भेण्टिलेटर आवश्यक पर्ने कोभिड बिरामीलाई मात्रै अस्पतालमा राख्ने व्यवस्था रहेको छ । अन्य सामान्य कोभिड बिरामीलाई स्थानीय स्तरकै आइसोलेसनमा राख्नु पर्ने व्यवस्था छ । जटिल अवस्था भए हामी उपचार गर्छौ । अन्यथा आफै सुरक्षित हुनुपर्छ ।” प्रतिष्ठानले अब श्वासप्रश्वास विना बाच्न नसक्ने बिरामीका लागि मात्रै भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको समेत निमित्त निर्देशक शाहको भनाई छ ।
मानव अधिकार आयोगको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग र पत्रकारको टिमले बुधवार सिंजा क्षेत्रका ३ पालिकामा अनुगमन गर्दा संक्रमित त्रिपालमै बसिरहेका भेटिएका हुन् । संक्रमित बसेकै त्रिपाल नजिक पुगेर आयोगको टोली र पत्रकारले कुराकानी गर्दा संक्रमित तिरुवाले प्रतिकुल परिस्थितिका बिच जङ्गलमा त्रिपाल टाँगेर बसेको, कसैले रेखदेख नगरेको र राज्यको लगानीमा बनेका आइसोलेसन आफ्नो काम नलागेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
ठुलो अस्पताल र पालिकामा आइसोलेसन हुँदा पनि संक्रमित त्रिपालमा बस्नु मानव अधिकार हननको परिदृश्य भएकोले राज्यको ध्यानाकर्षण हुनुपर्नेमा आयोगका मानव अधिकार अधिकृत धन शाहीले जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्