निषेधाज्ञाको पहिलो दिन तनहुँमा सुनसान

तनहुँ । तनहुँमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेसँगै सदरमुकाम दमौलीसहित स्थानीय व्यापारिक केन्द्र सुनसान देखिएका छन् ।
प्रशासनले २२ गते राति १२ बजेदेखि लागु हुने गरी वैशाख मसान्त (वैशाख ३१ गते राति १२ बजेसम्म) जारी गरेको निषेधाज्ञाका कारण स्थानीय बजार सुनसान देखिएका हुन् ।
कोभिड–१९ सङ्क्रमणको दोस्रो लहरको ‘चेन ब्रेक’ गर्न स्थानीय प्रशासनले वैशाख मसान्त (वैशाख ३१ गते राति १२ बजेसम्म)को लागि निषेधाज्ञा जारी गरेको तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।
तनहुँ जिल्लाको ऋषिङको २, ३, ४, ५, ६, ७ र ८ नं. वडा र घिरिङ गाउँपालिका बाहेक जिल्लाका अन्य स्थानमा लागू हुने गरी अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा, सवारी साधन, पसल तथा व्यवसाय र आवश्यक बाहेकको कामकाजका लागि हिँडडुलमा समेत निषेध गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

अत्यावश्यक काम बाहेक अन्य कुनै पनि प्रयोजनका लागि हिँडडुल गर्न नपाइने गरी जारी गरिएको निषेधाज्ञाको पहिलो दिन बिहीबार बिहानैबाट मुख्य बजार दमौली, डुम्रे, आँबुकखैरेनी, दुमेगौडा, भिमाद लगायतका मुख्य बजार सुनसान छन् । मानिसको आवत–जावत र जमघट हुन नदिन नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोली खटाइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।
निषेधाज्ञा भएको स्थानमा खाद्यान्न, तरकारी, फलफूल, दूध र दूधजन्य पदार्थको उत्पादन र विक्री वितरण बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म पाइनेछ ।
निर्माण सामग्री पसल र सार्वजनिक निर्माणका लागि ढुवानी गर्ने साधन दिउँसो ११ बजेदेखि ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
त्यस्तै माथि उल्लेखित भएका बाहेक अन्य अत्यावश्यक काम (अस्पताल आउने जाने, बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य सहभागी हुनुपर्ने अवस्था) का लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति लिनुपर्नेछ ।

सञ्चारकर्मीको हकमा सूचना विभाग वा सम्बन्धित सञ्चार गृहले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न पाइनेछ ।
सवारी साधन पुर्णरुपमा ठप्प छन् भने औषधि पसल मात्र सञ्चालनमा आइरहेका छन् ।
बिना काम हिँड्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएर सम्झाई बुझाई गरी छोड्ने गरिएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्