कोरोना परीक्षणको लागि चरिकोटमै पिसिआर प्रयोगशाला

दोलखा । दोलखा सदरमुकाम चरिकोटमा पनि कोरोना भाइरस (कोभिड–१९) परीक्षणको लागि बुधवारबाट पिसिआर प्रयोगशाला सञ्चालनमा आएको छ ।
अत्याधुनिक प्रविधि युक्त पिसिआर प्रयोगशालामा एक पटकमा ३२ वटा नमुना परीक्षण गर्न सकिने र तीन घण्टा भित्र रिपोट दिन सकिने प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका निर्देशक नारायण कार्कीले बताउनुभयो । आवश्यकता अनुसार प्रयोगशालाबाट दैनिक चार सयसम्म पिसिआर परीक्षण हुनसक्ने कार्कीले बताउनुभयो ।
दोलखाबाट निर्वाचित सङ्घीय सांसद पार्वत गुरुङ तथा प्रदेश सांसद पशुपति चौलागाई र विशाल खड्काको सांसद विकास कोषबाट प्राप्त आर्थिक सहयोगले पिसिआर प्रयोगशाला स्थापना गरिएको हो ।

प्रयोगशालामा तत्कालको लागि प्राविधिक सहयोग प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेलले उपलब्ध गराएको भीमेश्वर नगरपालिकाले जनाएको छ ।
प्रयोगशाला स्थापनाको लागि सङ्घीय सांसद तथा प्रदेश सांसदहरूको सांसद विकास कोषबाट एक करोड ४१ लाख प्राप्त भएको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताउनुभयो ।
नगरपालिकाले प्रयोगशाला स्थापनाको लागि एक करोड ४६ लाखमा टेन्डर आव्हान गरेकोमा ९४ लाख ६३ हजारमा सम्झौता भई प्रयोगशाला सामग्री ल्याइएको खड्काले बताउनुभयो । सांसद विकास कोषबाट प्राप्त बाँकी रकम प्रयोगशाला व्यवस्थापनमै खर्च गरिने पनि खड्काले बताउनुभयो ।

पिसिआर प्रयोगशाला सञ्चालनको लागि प्राविधिकहरू माइक्रो वायोलोजिष्ट नसना सुवाल र ल्याब टेक्नोलोजिष्ट (बिएमएलटी) सञ्जु थामी रहनुहुने जनाइएको छ । केही दिनको लागि भने प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका ल्याब टेक्नोलोजिष्ट सुमन सुवेदीले समेत सहयोग गर्ने भीमेश्वर नगरपालिकाले जनाएको छ ।
पिसिआर प्रयोगशाला शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, मेलुङ गाउँपालिकाका प्रमुख नरबहादुर श्रेष्ठ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका निर्देशक नारायण कार्की, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, भीमेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख श्याम खड्का, प्रस्तावित चरिकोट अस्पतालका डा.विनोद दंगाल लगायतको सहभागिता रहेको थियो ।
दोलखामा पनि निषेधाज्ञा
कोरोना सङ्क्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले दोलखा जिल्लामा पनि निषेधाज्ञा जारी गरेको छ ।
बुधवार राति १२ बजेबाट वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो । जिल्लामा बिहान ६ बजेदेखि ८ बजेसम्म मात्र बजार खोल्न पाइने र अत्यावश्यक बाहेकका सवारी साधन चलाउन नपाइने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्