तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा निषेधाज्ञा थप कडा, बजार तथा सडक सुनसान

जनकपुरधाम  । कोरोनाको सङ्क्रमण दर उच्च भएका भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि जनकपुरधाममा जारी रहेको निषेधाज्ञाको तेस्रो दिन सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।

विना काम बाहिर निस्कनेलाई आर्थिक जरिवानाका साथै प्रहरी कडा रुपमा प्रस्तुत भएपछि जनकपुरधामसहित जिल्ला भरका बजार क्षेत्र पूर्णरुपमा बन्द रहेका छन् ।

बैङ्क तथा वित्तीय संस्थाहरू खुल्ला भए पनि सुरक्षा सावधानीसहित सेवा दिने काम भइरहेको छ भने बैङ्कहरूले सीमित कर्मचारी तथा सीमित सेवाग्राहीका बीचमा थोरै समयसम्म मात्र सेवा दिइरहेका छन् ।

अत्यावश्यक सवारी साधन चले पनि अन्य सवारी साधन ठप्प रहेको छ । कोरोनाको सङ्क्रमण दर बढेका कारणले सर्वसाधारणहरू बाहिर निक्कै कम मात्रामा निस्केको पाइन्छ ।

चोक चोकमा सुरक्षाकर्मी तैनाथ रहेका छन् । सुरुको दिनमा निषेधाज्ञा फितलो जस्तो देखिए पनि दोस्रो दिनदेखि निक्कै कडा बनाइएको छ । जनकपुरधामको मठ मन्दिरहरू सबै बन्द नै रहेको छन् ।

अरू समयमा प्रायः खुल्ला रहने जनकपुरधामको पेठीया बजार पूर्णरुपमा बन्द रहेको छ । स्थानीय प्रशासनले निर्धारण गरेको समयमा अत्यावश्यक सामानको बिक्री गर्ने पसलहरू मात्र खुल्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button