वीरगंजमा उपचाररत थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु

बीरगंज । वीरगञ्जमा उपचाररत थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
बीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत ५५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज ११ः३५ बजे मृत्यु भएको छ ।
पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर ८ निवासी ५५ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या भएपछि गत वैशाख १५ गते नारायणी अस्पताल भर्ना गरिएको थियो । ती पुरुषको वैशाख १५ गते नै एन्टिजेन परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
उनमा गम्भीर किसिमको निमोनिया देखिएको र निमोनियाका कारण दुवै फोक्सोमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गराउँदा समेत बचाउन नसकिएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
यसै गरी आजै ११ः१० बजे रौतहट जिल्लाको फत्तेपुर नगरपालिका वडा नम्बर ६ निवासी नारायणी अस्पतालमा उपचाररत ६० बर्षीया महिलाको मृत्यु भएको छ ।
कोरोना सङ्क्रमित भई वैशाख २२ गते अस्पताल भर्ना भएकी महिलाको उपचारको क्रममा आज मृत्यु भएको डा.दासले जानकारी दिनुभयो ।
मृतक महिलाको पनि उच्च निमोनियाको कारण श्वास प्रश्वासमा समस्या भएपछि मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले बताउनुभयो ।
त्यस्तै रौतहटकै बिजयपुर निवासी ४५ वर्षीय पुरुषको आज बिहान ८ः०० बजे निधन भएको छ ।
आज बिहानै उपचारका लागि नारायणी अस्पतालमा ल्याइएका उनको उपचार गर्न नपाउँदै निधन भएको अस्पतालका कोभिड संयोजक डा. दासले जानकारी दिनुभयो ।
त्यसै गरी आज बिहान ५ः०० बजे रौतहटको गौर नगरपालिका वडा नम्बर २ निवासी ५४ वर्षीय पुरुषको मृत्यु भएको छ ।
उपचारका लागि वैशाख २१ गते नारायणी अस्पतालमा भर्ना गरिएका ती पुरुषको आज बिहान श्वास प्रश्वासमा समस्या भएपछि निधन भएको डा.दासले बताउनुभयो ।
त्यस्तै नारायणी अस्पतालमा गए राति ११ः३५ बजे बीरगंज महानगरपालिका वडा नम्बर ४ बिर्ता निवासी ७० वर्षीय पुरुषको उच्च निमोनियाको कारण फोक्सोले काम गर्न छाडेपछि निधन भएको छ ।
उनलाई श्वास प्रश्वासमा समस्या भएपछि वैशाख १९ गते उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
यसै गरी गए राति नै रौतहटको गौर नगरपालिका वडा नम्बर ३ निवासी ४७ वर्षीय पुरुषको उच्च निमोनियाको कारण मृत्यु भएको छ ।
वैशाख २० गते श्वास प्रश्वासमा अवरोध भएपछि उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएका पुरुषको २० गते नै कोरोना सङ्क्रमण पुष्टि भएको र उपचारको क्रममा उनको मृत्यु भएको डा.दासले जनाकारी दिनुभयो ।
गए राति र आज बिहान गरी बीरगंजमा थप ६ जना सङ्क्रमितको मृत्यु भएसँगै बीरगंजमा वैशाख यता कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ ।
मृत्यु भएका मध्ये वीरगञ्जको नारायणी अस्पतालमा ३७ जनाको, नारायणी बयोधा अस्पतालमा ५ जना, नेशनल मेडिकल कलेज शिक्षण अस्पतालद्वारा सञ्चालित अस्थायी कोभिड अस्पतालमा ३ जना र गण्डक अस्पतालमा एक जना उपचाररत कोरोना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ ।
मृतक मध्ये ३१ जना पर्साका ७ जना बाराका ५ जना रौतहटका २ जना सर्लाहीका र १ जना भारतीय नागरिक रहेको जिल्ला प्रशासन कार्यालय पर्साका कोरोना फोकल पर्सन बिनय श्रीवास्तवले बताउनुभयो ।
थप १ सय ५१ जनालाई कोरोना सङ्क्रमण पुष्टि
यसैबीच बीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा आज बिहान थप १ सय ५१ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
१ सय ९२ जनाको पिसीआर परीक्षण गरिएकोमा १ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेमा ९५ जना पुरुष र ५६ जना महिला रहेका छन् ।
सङ्क्रमित मध्ये १ सय ९ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका ३० जना, रौतहटका ५ जना, सर्लाहीका ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा.दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह ६ वर्षदेखि ८८ वर्षसम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १४ देखि ३४ दशमलव ९ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्