सल्यानमा ‘अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार’ अभियान
सल्यान । दिनप्रतिदिन फैलिँदै गएको कोरोना भाइरसका कारण अहिले अक्सिजनको अभाव बढ्दै गएको छ ।
अक्सिजनको अभावकै कारण धेरैले अकालमै ज्यान नै गुमाइरहेका छन् भने अक्सिजनको अभाव हुँदा उपचारमा समेत समस्या हुँदै आइरहेको छ ।
अस्पतालमा अक्सिजनको अभाव बढ्दै जाँदा सल्यानमा भने अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार अभियान सञ्चालन गरिएको छ ।
अक्सिजनकै अभावबाट अकालमै कोहीको ज्यान जान नदिन कोभिड–१९ सेल्फ हेल्प समूह गठन गरी अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार अभियान सुरु गरिएको छ ।
सङ्कटमा सरकारको मात्र मुख ताक्ने भन्दा पनि नागरिकहरूले पनि आफ्नो दायित्व निवार्ह गर्नुपर्छ भन्ने भावनाका साथ अभियान सञ्चालन गरिएको अभियान्ता तथा पत्रकार आशिष केसीले जानकारी दिनुभयो ।
बुधवार साँझबाट सुरु गरिएको अभियानमा अहिलेसम्म झन्डै ८० हजार रुपैयाँ सङ्कलन भइसकेको उहाँको भनाई छ ।
सञ्चालन गरिएको अभियानको राम्रो प्रतिक्रिया आइरहेको र सहयोग पनि गर्ने आश्वासन आइरहेको पत्रकार केसीले बताउनुभयो ।
मानवीय र सामाजिक उत्तरदायित्व पुरा गर्न अभियान सुरु गरेको गोविन्द शर्माले बताउनुभयो । एक जनाले एक हजार मात्र सहयोग गरे कसैको ज्यान जोगिन्छ भने एक हजार किन सहयोग नगर्ने ?
समूहले बिरामीहरूका लागि २४सैं घण्टा एम्बुलेन्सको समेत व्यवस्था गरेको उहाँको भनाई छ । सङ्कलन भएको रकमबाट जिल्ला अस्पताल सल्यानमा अक्सिजन सहितको सिलिन्डर उपलब्ध गराउने शर्माले बताउनुभयो ।
सल्यान अस्पतालमा अक्सिजन सहितको सिलिन्डर नहुँदा उपचारमा समस्या हुँदै आइरहेको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार सल्यानमा हाल ३ सय ३४ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमित मध्ये १४ जना जिल्ला अस्पताल सल्यान, ५ जना संस्थागत आइसोलेसन र २३ सय १५ जना होम आइसोलेसनमा रहेका छन् ।
कोरोनाबाट सल्यानमा ८ जनाले ज्यान गुमाइसकेका छन् ।








प्रतिक्रिया राख्नुहोस्