खरानीटार अस्पतालमा २० शय्याको ओइशोलेसन कक्ष

त्रिशूली। कोरोना रोगको सङ्क्रमणको दर बढ्दै गएसँगै नुवाकोटको तादी गाउँपालिकाले उपचारको लागी २० शय्याको ओइशोलेसन कक्ष तयार गरेको छ । पालिकामा समुदायसम्म कोरोनाको सङ्क्रमण देखिएसँगै रोग नियन्त्रणको लागी अहिले तत्कालको लागी २० शय्याको आइसोलेसन कक्ष तयार गरेर सङ्क्रमितको उपचार गर्न तयारी अवस्थामा राखिएको गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डे जानकारी दिनुभएको छ ।
उहाँका अनुसार दिनप्रतिदिन बढ्दै गएको कोरोना रोग नियन्त्रण गर्न तादी गाउँपालिका लगायत आसपासलाई समेत उपलब्ध गराउन खरानीटार अस्पतालमा अक्सिजन सहितको आइसोलेसन शय्या तयार गरिएको हो ।
“कोरोना सङ्क्रमणको दरमा देखिएको बृद्धिसगैँ खरानीटार अस्पतालमा स्वाब सङ्कलन गरेर परीक्षणको लागी पठाउने व्यवस्था मिलाइएको छ”, अध्यक्ष पाण्डेले भन्नुभयो “रोगको लक्षण देखिएका तादी गाउँपालिकावासी सहित छिमेकी स्थानीय तहका बासिन्दाको लागी समेत सेवा दिन चिकित्सक सहितको स्वाथ्यकर्मी समेत केन्द्रमा राखिएको छ ।”
यही बुधवार गरिएको २२ जनाको पिसिआर परीक्षणमा तादी गाउँपालिकामा १२ जना थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या यहाँ २१ पुगेको छ ।
अति आवश्यकबाहेकका सेवा बन्द
यसैबिच तादी गाउँपालिका अन्तरगतको स्वास्थ्य शाखामा कार्यरत एक जना कर्मचारी सहित पालिकाको केन्द्र आसपासको बजार क्षेत्रका बासिन्दामा कोरोनाको सङ्क्रमण देखिएसँगै बुधवार देखी अनिश्चित समयको लागी पालिका र मातहत कार्यालयको अति आवश्यक बाहेकका सेवा बन्द गरिएको छ ।
गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण थापाले बुधवार जारी गरेको सूचना अनुसार रोगको सङ्क्रमण बृद्धिहुदै गएकाले अनिश्चित समयको लागी गाउँपालिकाको कार्यालय सहित छ वटा वडा कार्यालय, विभिन्न शाखा कार्यालयको अति आवश्यक बाहेकको सेवा बन्द गर्न भनिएको छ । अति आवश्यक सेवा चलाउन कोरोना रोगबाट बच्न तोकिएको मापदण्डको पालना गरेर आलोपालो गरेर बिहानदेखि बेलुकासम्म सेवा उपलब्ध गराउन दुई समूह बनाइएको छ ।रासस








प्रतिक्रिया राख्नुहोस्