सप्तरीका शहरी क्षेत्रमा शनिवारदेखि निषेधाज्ञा

सप्तरी । कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा बढ्दै गएपछि सप्तरी जिल्लामा पनि निषेधाज्ञा लगाउने निर्णय भएको छ ।
वैशाख २५ गते शनिबार राति १२ बजेदेखि लागू हुने गरी जिल्लाको शहरी क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय भएको हो ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज (बिहीबार) बसेको बैठकले जिल्लाका सम्पूर्ण शहरी क्षेत्रमा वैशाख २५ गतेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिनुभयो ।
राजविराजमा बसेको बैठकले जिल्लाका राजविराज, कञ्चनपुर, फत्तेपुर, महुली, हनुमाननगर, भारदह, बरमझिया, तोपा, वीरेन्द्र बजार, रुपनी, कठौना , कल्याणपुर, खर्चुहिया, कडरबना, पातो, बोदेबसाइन, सखडा लगायतका बजार क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।
त्यसै गरी बैठकले सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन स्थानीय तहले गर्ने निर्णय गर्दै सङ्क्रमित बढे निश्चित क्षेत्रलाई सिल गर्ने अधिकार समेत स्थानीय तह र स्थानीय प्रहरीलाई दिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।
बैठकले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक बन्द गरेर अस्पतालमै सेवा दिन भनिएको छ । निजी क्लिनिक सञ्चालन गर्ने अन्य चिकित्सकलाई पनि भिडभाड नगरी सञ्चालन गर्न बैठकले भनेको छ ।
जिल्लामा रहेको यूनिक र छिन्नमस्ता अस्पताललाई ५ दिनभित्र कोरोना सङ्क्रमितको उपचारको व्यवस्था मिलाउन बैठकले भनेको छ भने प्रत्येक स्थानीय तहलाई कम्तीमा २० बेडको आइसोलेसन सञ्चालन गर्न भनिएको प्रजिअ पोखरेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्