आज थप ८ हजार ६ सय ५९ जना संक्रमित
काठमाडौँ । कोरोना भाइरसबाट आज थप ८ हजार ६ सय ५९ जना संक्रमित भएका छन् ।आज २० हजार ७ सय ५६ वटा नमूनाको पिसिआर परीक्षण गर्दा ८ हजार ६ सय ५ जना तथा ६ सय १६ वटा नमूनाको एन्टिजेन परीक्षण गर्दा ५४ जना गरी थप ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार आज काठमाडौँमा २ हजार ८ सय ४९ जना, ललितपुरमा ५ सय १८ जना र भक्तपुरमा ४ सय ५८ जना गरी काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ८ सय २५ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी कोरोना सङ्क्रमणका कारण आज थप ५८ जनाको मृत्यु भएको छ । यो सँगै हाल सम्म नेपालमा ३ हजार ४ सय ७५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।
आज थपिएको संक्रमित र मृतक दुवैको सङ्ख्या कोरोना महामारी सुरू भए देखिको उच्च सङ्ख्या हो ।
दैनिक रूपमा संक्रमण दर बढ्दै जाँदा आज सक्रिय सङ्क्रमितको कूल सङ्ख्या ६६ हजार ३ सय ५२ पुगेको छ ।
सक्रिय संक्रमित मध्ये ६१ हजार ५ सय ८८ जना होम आईसोलेनसमा छन् भने बाँकी अस्पताल तथा संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
यस्तै आज थप १ हजार ९ सय ९३ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् भने निको हुने दर ८० दशमलव ६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमणको जोखिम बढी रहेका क्षेत्रमा कनट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा बढाउन स्थानीय पालिकाहरूलाई आग्रह गरेको छ ।
मन्त्रालयले सङ्क्रमणको जोखिम उच्च भएका क्षेत्रहरूमा कनट्याक्ट ट्रेसिड्को दायरा भित्र पर्ने व्यक्तिको घरमै गएर स्वाब सङ्कलन गर्न सकिने र त्यसका लागि अधिकतम ५ सय शुल्क लिन सकिने व्यवस्था गरेको मन्त्रालयका प्रवक्ता प्रा डा गौतमले बताउनुभयो ।
प्रवक्ता गौतमले कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुँदै आएको रेमडेसिभिर औषधिको अभाव नभएको समेत बताउनुभएको छ ।
नेपालमा हाल १ लाख २८ हजार भाईल रेमडेसिभिर मौज्दात रहेको र एक दुई दिन भित्रमा ४ हजार भाईल थप हुने प्रवक्ता गौतमले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्