डडेलधुरा अस्पतालमा जनशक्ति अभाव, उपचारमा समस्या

डडेलधुरा । डडेलधुरा अस्पतालमा जनशक्तिको अभावका कारण उपचारमा समस्या भएको छ । केही समय यता डडेलधुरा अस्पतालमा कोरोना भाइरसका बिरामीको सङ्ख्यामा वृद्धि भएपछि जनशक्तिको अभाव देखिएको हो ।
अस्पतालमा अहिले क्षमता भन्दा पाँच गुणा बढी कोरोना भाइरस सङ्क्रमितहरूको उपचार भइरहेको छ । एक जना बिरामीका लागि एक जना नर्सिङ हुनुपर्ने हुन्छ तर डडेलधुरा अस्पतालको आइसियुमा पाँच जना मात्रै नर्सिङ रहेका छन् ।
अस्पतालमा अहिले २५ जना सक्रिय कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । पाँच जना नर्सिङमा पनि केही मात्रै दक्ष रहेको डडेलधुरा अस्पतालले जनाएको छ । आइसियुमा उपचार गराइरहेका बिरामीका लागि २४ सै घण्टा स्वास्थ्य कर्मीको निगरानीमा उपचार गर्नुपर्ने हुन्छ ।
भएका नर्सिङमा पनि कोही कोरोना संक्रमित हुँदा उपचारमा समस्या आउन सक्ने भएकाले समयमा जनशक्तिको व्यवस्थापन गरिदिन अस्पतालले आग्रह गरेको छ । नर्सिङ मात्रै नभई विषय विज्ञ चिकित्सकको समेत अभाव भएको अस्पतालका निमित्त मेसु जगदीशचन्द्र विष्टले जानकारी दिनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले एक सूचना जारी गर्दै बिदामा बसेका कर्मचारीहरू र अध्ययन बिदामा बसेका सबै कर्मचारीहरूलाई आफ्नो कार्यक्षेत्रमा फर्कन २४ घण्टे सूचना जारी गरेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्