तपाईँ सुन्दै हुनुहुन्छः

क्वारेनटिन तयार गर्दै स्थानीय तह

सोलुखुम्बु । सोलुखुम्बुका स्थानीय तहले पुरानै क्वारेनटिनलाई प्रयोगका लागि तयार गर्न थालेका छन् । नेपालमा कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमलाई ध्यानमा राख्दै स्थानीय तहहरूले पुरानै क्वारेनटिन ब्युँताउने तयारी गरेका हुन् ।
जिल्लाको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकाले फाप्लुमा घिल्ले वर्ष स्थापना गरेको क्वारेनटिनलाई फेरी प्रयोगको तयारी गरेको स्वास्थ्य शाखा संयोजक चमर मगरले बताउनुभयो । थुलुङ दूधकोसी गाउँपालिकाको हरेक वडामा २०/२० बेडको क्वारेनटिन अघिल्लो वर्ष नै स्थापना गरेको र पाँच बेडको कोभिड अस्पताल सञ्चालनमा रहेको गाउँपालिकाका सूचना अधिकारी विशालबाबु राईले जानकारी दिनुभयो ।
खुम्बु पासाङल्हामु गाउँपालिकामा क्वारेनटिनको व्यवस्थापन छैन भने आइसोलेसन निर्माणको तयारी गरिएको छ । गाउँपालिका बाहिरबाट आएका व्यक्तिलाई होम क्वारेन्टिनमा राखिने र गाउँपालिकामा पाँच बेडको आइसोलेसनसमेत रहेको सोताङ गाउँपालिका स्वास्थ्य शाखा संयोजक श्रीध्वज राईले बताउनुभयो ।
त्यस्तै, माप्य दूधकोसी गाउँपालिकाको दाम्कुमा १० बेडको क्वारेनटिन पुरानै रहेको गाउँपालिका उपाध्यक्ष जुनितामाया रेग्मी मगरले बताउनुभयो । नेचासल्यान र लिखुपिकेले पनि पुरानै क्वारेनटिनलाई व्यवस्थित बनाउने तयारी भइरहेको जनाइएको छ ।
आठ स्थानीय तह रहेको सोलुखुम्बुमा महाकुलुङ गाउँपालिकाले दैवी प्रकोप व्यवस्थापन समितिको बैठक बसी थप निर्णय गरी क्वारेनटिन व्यवस्थापन गर्ने स्वास्थ्य शाखा संयोजक हरि आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button