आरोहीलाई फर्किनको लागि लुक्लामा उडानको अनुमति

सोलुखुम्बु । सोलुखुम्बुको अति व्यस्त तेन्जिङ हिलारी विमानस्थल लुक्लाले उडान अनुमति पाएपछि पर्यटन व्यवसायीमा खुशी छाएको छ । आरोहण सिजन भएकाले हजारौँको सङ्ख्यामा रहेका आरोही तथा तीनका सहयोगीहरूलाई फर्कनका लागि तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडानको अनुमति दिइएको हो ।
आरोहणको उचित समयको पर्खाइमा आधार शिविरमा अहिले रहेका आरोही तथा सहयोगीहरूलाई असहज अवस्थामा उद्धार गर्न तथा आरोहणबाट फर्कंनेहरुलाई काठमाडौँ लैजानुपर्ने भएकाले अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।
उडान अनुमतिले आरोहण पश्चात् फर्कन तथा फाटफुट रुपमा आएका पर्यटकलाई फर्कन सजिलो हुने आधार शिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । त्यस्तै, सेभेन समिट क्लबका प्रमुख ङिमागेलु शेर्पाले लुक्लालाई उडान अनुमति दिनु राम्रो काम भएको भन्दै खुशी व्यक्त गर्दै भन्नुभयो ।
नेपाल वायुसेवा कम्पनीले आपत्कालीन अवस्थामा काठमाडौँ बाहेक बाहिरका लुक्लाको तेन्जिङ हिलारी, पोखरा, नेपालगञ्ज र सुर्खेत नागरिक उड्डयन कार्यालय गरी थप चार विमानस्थल कार्यालयबाट आकस्मिक उडानको अनुमति लिन सकिने भएको हो ।
यसअघि काठमाडौँबाट मात्र आकस्मिक उडानका लागि अनुमति दिने व्यवस्था रहेको थियो । त्यस अवस्थामा वायुसेवा कम्पनीहरूले अब लुक्लास्थित नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाटै उडान अनुमति लिएर पर्यटकको उद्धार गर्न सक्ने बाटो प्राधिकरणले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्