नेपालगन्ज मेडिकल कलेजमा एक हप्तामा तीन संक्रमित सुत्केरी, दुई जनाको शल्यक्रिया
बाँके । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा थप एक जना गर्भवतीको शल्यक्रिया मार्फत बच्चा निकालिएको छ । अस्पतालका सह निर्देशक डा. नितेश कनोडियाका अनुसार भूमि–४ रुकुमकी ३२ वर्षीया महिलाको शल्यक्रियामार्फत छोरी निकालिएको हो । यसअघि उहाँले दुई सन्तान जन्माइन सक्नुभएको छ ।
पीसीआर रिपोर्ट पोजेटिभ आएपछि ती महिला २० गते राती ९ बजेतिर अस्पताल भर्ना भएकी थिइन् । तैपनि उनलाई कोभिडको कुनै लक्षण थिएन, प्रसूति व्यथा समेत लागेको थिएन । तर बच्चा जन्मने समय भने एक हप्ता पार भइसकेको थियो । अवस्था जटिल हुन सक्ने आङ्कलनमा शल्यक्रियामार्फत बच्चा निकालिएको शल्यक्रियामा संलग्न स्त्री रोग विशेषज्ञ डा. कविता सिन्हाले बताउनुभयो । उहाँका अनुसार बच्चाको तौल २ दशमलव ७ किलो छ ।
उनको मङ्गलवार दिउँसो ३ः१३ बजे शल्यक्रिया गरिएको थियो । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. सिन्हाले बताउनुभयो । शल्यक्रियामा डा सिन्हासहित प्रोफेसर डा. मीता सिन्हा, डा. गोमा रिमाल, डा. शैलेन्द्र शाक्य, डा. श्यामानन्द शाह, नर्स सरस्वती श्रेष्ठ, हेमा शाही, अम्वि महरालगायतको टोली सहभागी थियो ।
एक हप्ताकै अन्तरमा मेडिकल कलेजमा तीन जना संक्रमित सुत्केरी भएका छन् । सुर्खेत भेरीगंगा नगरपालिका–११ की २२ वर्षीया गर्भवतीको नर्मल डेलिभरी भएको थियो भने नेपालगन्ज उपमहानगरपालिका ६ की ३२ वर्षीया सङ्क्रमितको शल्यक्रियामार्फत बच्चा निकालिएको थियो । सुर्खेतको केश डिस्चार्ज भइसकेको छ ।
मेडिकल कलेजमा अहिले तीन जना संक्रमित सुत्केरी छन् । नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा शल्यक्रियामार्फत सुत्केरी भएकी नेपालगन्जकै महिला पनि कोहलपुर सारिएको छ । ती महिलामा शल्यक्रियामार्फत बच्चा निकालिएपछि रिपोर्ट पोजेटिभ आएको थियो । अस्पतालमा उपचाररत उनीहरू सबैको अवस्था सामान्य छ ।








प्रतिक्रिया राख्नुहोस्