अछाममा थप २५ जनामा कोरोना संक्रमण पुष्टि
अछाम । अछाम जिल्लामा आज थप २५ जनामा कोरोना पुष्टि भएको छ ।
जिल्लाको कमलबजार पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा ६ महिला र १९ जना पुरुष गरी २५ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।
जिल्ला अस्पताल अछाम, बयालपाटा अस्पताल र कमलबजार पिसिआर प्रयोगशाला मार्फत २२ महिला र ४६ पुरुष गरी ९३ जनाको स्वाब सङ्कलन गरी परिक्षण गरिएकोमा २५ जनामा कोरोना देखिएको प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिनुभयो ।
योसँगै अछाममा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ९९ पुगेको छ । जिल्लाका १० वटै स्थानीय तहमा दोस्रो चरणमा कोरोना संक्रमित देखिन थालेका छन् ।
१ सय महिला र १ सय ९९ पुरुष गरी २ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी देब जोशीले जानकारी दिनुभयो ।
संक्रमित मध्ये हाल ४ जनालाई निको भएको छ भने ४ जनाको ज्यान गइसकेको छ ।
मङ्गलसेन नगरका प्रशासकीय अधिकृतलाई कोरोना
यसैबीच जिल्लाको मङ्गलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीलाई कोरोना संक्रमण भएको छ ।
एन्टिजेन विधिबाट भएको परीक्षणमा सोडारीलाई संक्रमण पुष्टि भएको हो ।
जिल्लाको सदरमुकाम रहेको नगरपालिकामा कार्यरत सोडारीले आफूलाई संक्रमण भएको र आफ्नो सम्पर्कमा आएकाहरूलाई सजग रहन आग्रह गर्नुभएको छ ।
आफूलाई सामान्य लक्षण देखिएपछि परिक्षण गरिएको र हाल होम आइसोलेसनमा रहेको उहाँले बताउनुभयो ।
यसअघि दोस्रो चरणमा जिल्लाको चौरपाटी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई पनि कोरोना पुष्टि भएको छ ।








प्रतिक्रिया राख्नुहोस्