तपाईँ सुन्दै हुनुहुन्छः

बढ्दो कोरोना सङ्क्रमणका कारण भोलिदेखि सिराहामा थप कडाइ गरिने

लहान । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) सिराहाले वैशाख २३ गतेदेखि जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ ।
जिल्लामा कोरोना सङ्क्रमणको बढ्दो स्थितिलाई मध्यनजर गर्दै मङ्गलवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
भोलि (मङ्गलवार)देखि अर्को सूचना जारी नहुन्जेलसम्म अत्यावश्यक पसल बाहेक हाटबजार, मेला, भेला, सामूहिक भोज, नाचगान तथा जुलुस र्‍याली गर्न पाइने छैन ।
खाद्यान्न, फलफूल, तरकारी तथा निर्माण सामग्रीका पसल बिहान ६ बजेदेखि अपराह्न ५ बजेसम्म तथा औषधि पसल, पानी उद्योग, दूध डेरी र पेट्रोल पम्प लगायतका अति आवश्यक सेवालाई सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रूपले पालना गरी सञ्चालन गर्न पाउने छ ।
डीसीसीएमसी बैठकले भाडाका यात्रु बाहक तथा परिचय–पत्र धारी कर्मचारी बाहेकको निजी सवारी साधन जोर–बिजोर अनुसार मात्र चलाउन पाइने निर्णय भएको छ । यस्तै सैलुन र जिम खाना सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
यस्तै विवाह स्थानीय तहको अनुमति लिएर मात्र २५ जनाको सहभागितामा स्वास्थ्य मापदण्ड पालना गरेर गर्नुपर्ने निर्णय भएको छ भने सिमानाका पूर्णरूपमा सिल गरी आवतजावतमा पूर्ण रोक लगाउने निर्णय गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button