तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा उपचारको क्रममा थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु

बीरगंज । वीरगञ्जमा उपचाररत थप तीन जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
बीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण आज बिहान ८.१० बजे  मृत्यु भएको हो ।
बीरगंज महानगरपालिका वडा नम्बर २ छपकैया निवासी ६५ बर्षीया महिलालाई स्वास्थ्यमा समस्या भएपछि गत वैशाख १६ गते अस्पताल भर्ना गरिएको थियो ।
महिलाको वैशाख १७ गते पिसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
उनमा गम्भीर किसिमको निमोनिया देखिएको र निमोनियाका कारण दुवै फोक्सोमा समस्या भएपछि श्वास प्रश्वासमा समस्या हुँदा उनको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
यसै गरी गए राति नारायणी अस्पतालमा उपचाररत ४० वर्षीय पुरुषको मृत्यु भएको छ ।
कोरोना सङ्क्रमित भई वैशाख १६ गते अस्पताल भर्ना भएका उनको उपचारको क्रममा गए राति मृत्यु भएको डा.दासले बताउनुभयो ।
मृतक पुरुषको पनि उच्च निमोनियाको कारण श्वास प्रश्वासमा समस्या भएपछि मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले बताउनुभयो ।
यसै गरी गए राति नै वीरगञ्जस्थित नारायणी बयोधा अस्पतालमा उपचाररत बीरगंज महानगरपालिका वडा नम्बर १६ निवासी ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन विनय कुमार श्रीवास्तवले उपचारको क्रममा वृद्धको गए राति साढे ८ः०० बजे मृत्यु भएको जानकारी दिनुभयो ।
गए राति र आज बिहान थप ३ जनाको मृत्यु भएसँगै बीरगंजमा वैशाख यता कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।
मृत्यु भएकामध्ये वीरगञ्जको नारायणी अस्पतालमा ३० जनाको, नारायणी बयोधा अस्पतालमा ५ जना, नेशनल मेडिकल कलेज शिक्षण अस्पतालद्वारा सञ्चालित अस्थायी कोभिड अस्पतालमा ३ जना र गण्डक अस्पतालमा १ जना उपचाररत कोरोना सङ्क्रमितको मृत्यु भएको प्रवक्ता श्रीबास्तबले जानकारी दिनुभयो ।
मृतक मध्ये २८ जना पर्साका ७ जना बाराका २ जना सर्लाहीका  १ जना रौतहटका र १ जना भारतीय नागरिक रहेको श्रीवास्तवले बताउनुभयो ।
थप १ सय ९० जनालाई कोरोना संक्रमण पुष्टि
यसैबीच बीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा आज बिहान थप १ सय ९० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
२ सय ८८ जनाको पिसीआर परीक्षण गरिएकोमा १ सय ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेमा १ सय ३३ जना पुरुष र ५७ जना महिला रहेका छन् ।
सङ्क्रमित मध्ये १३३ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका ४१ जना, रौतहटका ५ जना, नेपालगन्ज, सप्तरी, महोत्तरी, धनुषाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको डा.दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह ५ वर्षदेखि ७० वर्षसम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १६ देखि ३५ दशमलव ५ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button